संखुवासभा । संखुवासभा जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या एक हजार नाघेको छ । अहिलेसम्म एक हजार १०३ जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ । जिल्ला अस्पताल संखुवासभामा डेङ्गीसङ्क्रमितका विरामी बढेपछि बेड अभाव हुने थालेको छ ।
साउन महिना यता जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या एघार सय तीन जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार खाँदबारी नगरपालिकामा मात्रै ९३८ डेङ्गी सङ्क्रमण देखिएको छ । जिल्ला अस्पताल संखुवासभामा दैनिक रुपमा डेङ्गी सङ्क्रमितका विरामी बढ्दै गएका कारण बेड समेत अभाव हुन थालेको हो ।पछिल्लो समय जिल्लामा तीव्र रुपमा डेङ्गी सङ्क्रमित बढेका छन् । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ । डेङ्गी रोकथाम र सचेतना अभियान लार्भा खोज, नष्ट तीन महिने अभियान नेपाल रेडक्रस सोसाइटीले गरिरहेको छ । डेङ्गी सङ्क्रमणका बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने बेड अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नु पर्ने बाध्यता भएको छ ।
डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा किट अभाव हुने देखिपछि कोशी प्रदेश कार्यालयमा माग गरिसकेको छ । ५० बेड क्षमताको संखुवासभा अस्पताल समयमा भवन निर्माण सम्पन्न नहुदाँ २०३३ सालमा स्थापना भएको ३७ बेड क्षमताको पुरानो भवनमासञ्चालन हुँदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १० स्थानीय तह मध्ये चिचिला र भोटखोला गाउँपालिकामा डेङ्गी सङ्क्रमण देखिएको छैन ।