काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आधा दर्जन बढि कीर्तिमान कायम गरेको छ ।
आज मंगोलियाविरुद्ध भएको खेलमा नेपालले दबदबापूर्ण जित हासिल गरेको हो । कमजोर प्रतिद्वन्द्वीलाई क्रिकेटको पाठ सिकाउने क्रममा नेपालले धेरै विश्व कीर्तिमान कायम गर्न सफल भयो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै उपस्थिति देखाउन नसकेको मंगोलिया र एसोसियट्स राष्ट्रमा अब्बल नेपालबीचको खेल एकपक्षीय हुने त पूर्वनिश्चित थियो । तर, नेपालले यति विशाल जितको चाहिँ अनुमान थिएन ।
टी–२० क्रिकेटमा २७३ रनको जित अविश्वसनीय मानिएको छ । नेपालले बनाएको ३१४ रन पनि दुर्लभ हो । यीबाहेक आजको म्याचमा नेपालले आधा दर्जन बढि विश्व कीर्तिमान राखेको छ ।
सर्वाधिक फराकिलो जित
नेपालले मंगलोलियाविरुद्ध हासिल गरेको २७३ रनको जित टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनको जित हासिल गरेको थियो । टी–२० अन्तर्राष्ट्रियमा तीन पटक मात्रै २ सय रनभन्दा ठूलो अन्तरले जित–हार भएको छ ।
नेपालले यसअघि सबैभन्दा ठूलो जितको रेकर्ड नेदरल्यान्ड्सविरुद्ध राखेको थियो । खेलमा नेपालले बलियो एसोसिएट टिम नेदरल्यान्ड्सलाई १४२ रनले हराएको थियो ।
सर्वाधिक ठूलो स्कोर
नेपालले पहिलो इनिङमा २० ओभर ब्याटिङ गर्दै ३ विकेट गुमाएर ३१४ रन जोड्यो । नेपालले १५.७० को रनरेटमा यो स्कोर खडा गरेको हो ।
अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनै पनि टिमले ३०० को स्कोर छुन सकेका थिएनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्ड विरुद्ध बनाएको २७८ रन टी–२० अन्तर्राष्ट्रियमा बनेको सबैभन्दा ठूलो स्कोर थियो ।
सर्वाधिक छिटो शतक
नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक पुरा गरे ।
यसअघि फास्टेस्ट हन्ड्रेडको कीर्तिमान तीन ब्याट्सम्यानको संयुक्त नाममा थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले बंगलादेशविरुद्ध भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध र चेक रिपब्लिकका एस विक्रमशेखराले टर्कीविरुद्ध ३५ बलमा शतक बनाएका थिए ।
नेपालका विष्फोटक ब्याट्सम्यान कुशलले मंगोलियाको कमजोर बलिङमाथि निर्दयी आक्रमण गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५० बल खेल्दा १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।
सर्वाधिक छिटो अर्धशतक
आजको खेलमा सबैभन्दा अविश्वसनीय प्रदर्शन चाहिँ दीपेन्द्रसिंह ऐरीले गरे । उनले ९ बलमै अर्धशतक बनाए । यो अब भविष्यमा तोडिन गाह्रो पर्ने रेकर्ड हो ।
१८.१ ओभरमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । नेपालले खेल्नका लागि केवल ११ बल बाँकी थियो । दीपेन्द्रले अर्धशतक बनाउलान् भन्ने कुनै कल्पना नै थिएन । अर्को इन्डमा कुशल मल्ल आफ्नो विष्फोटक अवतारमा थिए ।
तर, दीपेन्द्रले अन्तिम दुई ओभरमा यसरी ब्याटिङ गरे कि कुशलको कीर्तिमान शतक समेत छायाँमा पर्यो । १८.२ ओभरमा छक्का हान्दै दीपेन्द्रले आफ्नो खाता खोलेका थिए । त्यसपछि उनले छक्कामा मात्रै डिल गरे । आफूले सामना गरेका ६ बलमा उनले छ छक्का हाने ।
टी–२० मा एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान भारत युवराज सिंहको नाममा छ । दीपेन्द्रले भने एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का हानेका हुन् । त्यसपछिको एक बलमा उनले २ रन लिएका उनले फेरि दुई बलमा लगातार छक्का हान्दै आफ्नो अर्धशतक पूरा गरे ।
भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएर राखेको विश्व कीर्तिमान दीपेन्द्रले तोडेका हुन् । सिंहले सन् २००७ मा ईङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए, जसमा एकै ओभरमा ६ छक्का हानेका थिए ।
पहिलो ६ बलमा ६ छक्का
दीपेन्द्रले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का हाने । यो पनि एउटा अद्भुत विश्व कीर्तिमान हो । कुनै पनि ब्याट्सम्यानले आफूले सामना गरेका ६ बलमा ६ छक्का हान्ने सायद कल्पनासम्म गर्न सक्दैनन् ।
मंगोलियाका बलरले ६ वटै बल मिडल र लेगस्टम्पबीचमा फ्याकेका थिए । त्यो दीपेन्द्रका लागि हिटिङ जोन थियो । उनले ५ बल अन साइडमा र १ छक्का अफ साइडमा हिर्काए । उनी छक्काबाहेक अरू केही हान्ने मुडमै थिएनन् ।
तेस्रो नम्बरमा सर्वाधिक रन
कुशल मल्लले तेस्रो नम्बरमा आएर बनाएको १३७ रन पनि विश्वकीर्तिमान हो । टी२० मा चौथो नम्बरमा यति ठूलो स्कोर कुनै ब्याट्सम्यानले बनाउन सकेका थिएनन् ।
न्यूजिल्यान्डका ब्रान्डेम म्याकुलमले बंगलादेशविरुद्ध सन् २०१२ मा १२३ रनको इनिङ खेलेका थिए । अहिलेसम्म तेस्रो नम्बरका ब्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो स्कोर यही थियो । कुशलले यादवको कीर्तिमानलाई तोडिदिएका छन् ।
सर्वाधिक ठूलो साझेदारी
आज बनेको अर्को कीर्तिमान भनेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी पनि हो । कुशल मल्ल र रोहित पौडेलबीच १९३ रनको साझेदारी भएको थियो ।
यसअघि टी–२० मा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारीको विश्व कीर्तिमान न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सको नाममा थियो । उनीहरूले सन् २०२०मा वेस्ट इन्डिजविरुद्धको खेलमा १८४ रनको साझेदारी गरेका थिए ।
एउटै म्याचमा सर्वाधिक छक्का
नेपालले एउटै टी–२० म्याचमा सर्वाधिक छक्काको कीर्तिमान पनि आज राखेको छ । २० ओभर ब्याटिङ गर्दा नेपालका ब्याट्सम्यानहरूले २६ छक्का प्रहार गरे । कुशल मल्लले १२, रोहित पौडेलले ६ र दीपेन्द्रसिंह ऐरीले ८ छक्का प्रहार गरेका थिए ।
एउटै टी–२० इनिङमा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । सन् २०१९ मा आयरल्यान्डविरुद्धको म्याचमा अफगान ब्याट्सम्यानहरूले २२ छक्का प्रहार गरेका थिए । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सन् २०२३ मा २२ छक्का हानेको थियो । यी दुवै टिमको संयुक्त कीर्तिमान आज नेपालले तोडिदिएको छ ।