विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षले छुट्टै बैठक बोलाएका छन् । असोज ४ मा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि संस्थापन इतर समूहले छुटै बैठक बोलाएका हुन ।
कोइरालाले बैठकको तयारीमा लागि आफ्नो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका नेताहरूलाई बोलाएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ ।
बैठक मङ्गलवार दिउँसो २ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने शेखरका स्वकीय सचिव दिनेश थपलियाले बताए ।
पछिल्लो समय संस्थापन इतरका नेता शेखरले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । सरकारले ठुला भ्रष्टाचारका काण्डमा काँग्रेस नेतालाई निशाना बनाएको आरोप लगाउँदै आएका छन् ।