इलाम । कोशी प्रदेश सरकारको लगानीमा इलामको कन्याममा देशकै पहिलो ‘टी टेस्टिङ्’ अनुसन्धान केन्द्र निर्माण भएको छ ।
विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र प्रदेश सरकारको लागानीमा कन्याममा ‘टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७६–०७७ मा निर्माण सुरु भएको टी टेस्टिङ् सेन्टरसहितको अनुसन्धान केन्द्रमा १३ करोड ६५ लाख लगानी भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिए । दुई चरणमा गरेर केन्द्र निर्माण सम्पन्न भएको हो । पहिलो चरणमा आर्थिक वर्ष २०७६–०७७ मा भवन निर्माणको काम अगाडि बढेको थियो भने दोस्रो चरणमा भित्री डिजाइनसहितको काम भएको हो ।
सुवेदीका अनुसार अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०–८१ मै टी टेस्टिङ्सहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताए । देशमै पहिलो पटक टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको उनको भनाइ छ ।
केन्द्रम चिया सङ्ग्राहलय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेष्टहाउस र सभाहल रहेको छ । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधासम्पन्न गेष्ट हाउस सञ्चालन गर्ने नगरप्रमुख राईले जानकारी दिए । चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्नका आउनेका लागि गर्विलो ठाउँ तयार भएको उनको दावी छ ।
केन्द्र सञ्चालनमा आएप्ीछ नगरको आन्तरिक आम्दानीसमेत बढ्ने बताइएको छ । केन्द्रमा स्वदेशी तथा विदेशी चिया पारखीले चिया खरिद गर्न सक्नेछन् ।
चियाको अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी अनुसन्धान केन्द्रमा राखिनेछ । सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ । नगरलाई चियाको राजधानीसमेत भनिन्छ ।