विराटनगरमा २५ शैय्याको डेंगु उपचार सेवा सञ्चालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपको लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा सञ्चालनमा ल्याएको छ ।
विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट सञ्चालनमा ल्याएको हो ।

उक्त डेंगु उपचार सेवाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे । धरानमा डेंगु प्रकोपको रूपमा फैलिएर अस्पतालमा शैय्या अभाव भएर भुईँमा बसेर संक्रमितहरुको उपचार भइरहेको अवस्थामा प्रदेश सरकारले २५ शैय्याको जेनरल बेड संक्रमितको उपचारको लागि ल्याएको मुख्यमन्त्री थापाले बताए । ‘डेंगु संक्रमितले भुईँमा सुतेर उपचार गरिनुपर्ने अवस्थामा अब अन्त्य हुनेछ,’ मुख्यमन्त्री थापाले भने, ‘प्रदेश मातहतको अस्पतालमा अब निःशुल्क डेंगुको उपचार सुरु भएको छ ।’ मुख्यमन्त्री थापाले मन्त्रीपरिषद्को बैठक बसेर धरानमा १ सय थान स्प्रे मेसिन पनि वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश स्वास्थ्य मन्त्री निर्मला सुब्बाले प्रकोपको रूपमा फैलिएको डेंगु रोकथाम र नियन्त्रणमा प्रदेश सरकार लागि परेको बताए । ‘यसअघि निःशुल्क किट वितरण गरेर प्रकोपको रूपमा फैलिएको धरानमा डेंगु परीक्षण हुने गरेको थियो,’ उनले भनिन्, ‘अहिले डेंगु संक्रमित बिरामीको उपचारको लागि २५ शैय्याको उपचार केन्द्र सञ्चालनमा ल्याएका छौँ । बिरामीको संख्या अनुसार बेड थप हुँदै जानेछ ।’
डेंगो रोक उपचार व्यवस्थापनको लागि संयोजक भरत साहलाई जिम्मेवारी दिएको छ । संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २२ जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । स्वास्थ्य मन्त्रालयले थप ४३ जना जनशक्ति आवश्यक परेको भन्दै प्रदेश सरकारसँग माग गरिएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले जानकारी दिइन् । ‘दरबन्दी स्वीकृत भएर आउने क्रममा रहेको उनले बताइन् । ‘अहिले भएको जनशक्तिबाट डेंगो संक्रमित बिरामीको उपचार हुनेछ,’ उनले भनिन्, ‘दरबन्दी थप भएर आएपछि उपचारमा सहज हुनेछ ।’

कोशी प्रदेशमा आइतबारसम्ममा २२ हजार भन्दा बढीमा डेंगो संक्रमित रहेका छन् । जसमध्ये धरानमा सबैभन्दा बढी संक्रमित रहेका छन् । धरानमा शनिवारसम्ममा १७ हजार ३ सय ८२ जनामा परीक्षण गर्दा १२ हजार ५ सय ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म डेंगो संक्रमितबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष ६ र महिला पाँच रहेका छन् ।

आइतबार, ०३ भदौ, २०८०, साँझको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर