लोड हुँदैछ...

मेनु

धरानमा डेंगु रोगीको लागि निःशुल्क शिविर

धरानमा डेंगु रोगीको लागि निःशुल्क शिविर

धरान । सुनसरी उद्योग वाणिज्य संघ धरानले डेंगुका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । शिविरमा स्वास्थ्य परीक्षण, औषधोपचारको निःशुल्क व्यवस्थापन गरिएको छ ।

बिरामीको संख्या बढेपछि २० शय्याको वातानुकूलित कक्ष र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको सुनसरी उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शैलेशकुमार आचार्यले जानकारी दिए । बिपी प्रतिष्ठानका चिकित्सक सञ्जीवकुमार शर्माको टोलीले स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको कार्यकारी सदस्य आचार्यले जानकारी दिए ।

स्वास्थ्य संस्थाहरुमा डेंगुका कारण चाप बढेको बेला बिरामीलाई असहज भएकाले चाप कम गर्न पनि सहयोग गरेको आचार्यले बताए । स्वास्थ्य शिविरको आज धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले निरीक्षण गरेका थिए । उनले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै परिवारजनलाई सतर्कता अपनाउन र बिरामीको ख्याल गर्न अनुरोध गरेका छन् ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सहआयोजना साथै धरान उपमहानगर, बिपी प्रतिष्ठान, केएचडिसी नेपाल र धरानका वडाहरु १, २, ३, ७, ९, १२ र १६ को सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । धरानका ३१ हजार घरधुरीका प्रायः सबै घरमा डेंगुका विरामी रहेकोले स्वास्थ्य संस्थाहरुको समन्वयमा उत्तरदायित्व निर्वाह गर्ने प्रयास गरेका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।

शिविरमा सौर्य हेल्थ केयर र बिपी प्रतिष्ठानस्थित विद्यार्थीहरुको संस्था पिएसआरएनले सहयोग गरेको छ । व्यवसायीको सपोर्टबाट निशुःल्क शिविर सञ्चालन गरेको संघले जनाएको छ । गम्भीर प्रकृतिका बिरामी भए स्वास्थ्य संस्थामा समन्वय गरी निःशुल्क जाँच र औषधिको व्यवस्थासमेत गरिएको छ ।

शिविरमा १२ जना भन्दा बढीलाई बेडमै राखेर उपचार सुरु गरिएको छ । ६५ जना भन्दा बढी उच्च ज्वरो आएकाहरूको परीक्षणका लागि स्याम्पल संकलन गरिएको छ । महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म सञ्चालन गरिने सुनसरी उद्योग वाणिज्य संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।