जनस्वास्थ्यमा गम्भीर खेलवाड : बोर्ड विशेषज्ञको, सेवा अहेबको

विराटनगर । ६ जेठमा सुनसरीको इनरुवा नगरपालिका – ४ का १९ महिने शिशु नितेष मेहता विरामी भएपछि उनका अभिभावकले इननरुवा ४ हस्पिटल रोडमा रहेको सायमा पोलिक्लिनिकमा लिएर आए । त्यहाँ नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बोर्ड झुन्डिएकोे देखेपछि राम्रो उपचार सेवा पाउने आशाले गोमीदेवी मेहताले छोरालाई लिएर आएकी थिइन् ।

विशेषज्ञ चिकित्सकले छोरालाई उपचार सेवा गर्दैछन भन्ने गोमीदेवीलाई लागेको थियो । छोरा ठिक हुनुको साटो झन् साह्रो हुँदै गए । छटपटी बढ्यो । पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि नितेषलाई नजिकैको जिल्ला अस्पतालमा रेफर गरियो । रेफर गरेको केहीबेरमा मेहताको मृत्यु भयो । पछि बुझ्दै जाँदा पोलिक्लिनिकमा सिएमएले स्वास्थ्य उपचार गरेको पाइयो । त्यसपछि लापरवाहीपूर्ण उपचार गरेको पाइएपछि स्वास्थ्य कार्यालयले सायमा पोलिक्लिनिकको दर्ता खारेजी गर्यो । अरु कुनै कारवाही भएन । पोलिक्लिनिकका संचालक सायमा आलमले पीडितलाई क्षतिपूर्ती भन्दै केही रकम दिएपछि लापरवाहीपूर्ण घटना सामसुम भयो । अहिले आलमले पोलिक्लिनिकको नाम हटाएर सायमा फार्मेसी चलाउँदै आएका छन् ।

यस्तै सुनसरी इनरुवाकी ७६ वर्षीया सन्ध्यादेवी राम पेटको समस्या भएपछि इनरुवा हस्पिटल लाइनमा भएको ठाकुर फार्मेसीमा पुगिन् । त्यहाँ नोबेल मेडिकल कलेजका सुगर, पे्रसर तथा छाती रोग विशेषज्ञ चिकित्सक डा. फर्मुद अन्सारीको बोर्ड झुन्ड्याइएको थियो । विशेषज्ञ चिकित्सकको बोर्ड देखेर उनी ढुक्क भएर गए । पूर्जी काटेर विशेषज्ञ चिकित्सक भएको आशमा उनले देखाए । तर, जसलाई उनले चिकित्सक ठानेर देखाए ती व्यक्ति फार्मेसी व्यवसायी रहेको अनुगमन टोलीले भेटेको थियो । पछि बुझ्दै जाँदा ठाकुर फार्मेसीले सामुदायिक पोलिक्लिनिक संचालन गरेको पाइएको छ । फार्मेसीको सिफारिस लिएर पोक्लिनिक संचालन गरेर विरामीलाई ठगी गर्दै आएको सोमबार गरेको अनुगमनको क्रममा भेटिएको हो । स्वीकृति नलिइकन सञ्चालन गरेको पोलिक्लिनिकबाट विरामीलाई निकालेर अनुगमन टोलीले जिल्ला अस्पताल सुनसरीमा उपचारको लागि पठाए ।
स्वास्थ्य क्षेत्रमा विकृति व्यापक देखिएपछि गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई सोमबार अनुगमन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा इनरुवाको हस्पिटल रोडमा रहेको फार्मेसी, पोलिक्लिनिक, मेडिकल हलहरुको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा पोलिक्लिनिक, मेडिकल हल र फार्मेसीहरूले विरामी ठगी मात्र नगरेर स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको अनुगमन टोलीमा रहेका जिल्ला अस्पताल इनरुवाका प्रमुख देवराज घिमिरेले बताए । ‘इनरुवाको हस्पिटल रोडमा रहेको एक दर्जन पोलिक्लिनिक र फार्मेसीहरू अनुगमन गरिएको थियो । त्यसक्रममा व्यापक रुपमा बेथिति रहेको भेटियो,’ उनले भने, ‘फार्मेसीको स्वीकृति लिने पोलिक्लिनिक सञ्चालन गरेको भेटिएको छ । पोलिक्लिनिक भनेर बोर्डमा विशेषज्ञ चिकित्सक राखिएको छ । तर, उपचार सिएमए र अहेबले गरेको पाइएको छ ।’ यसरी खुलेआम फार्मेसी र पोलिक्लिनिकले ठगी मात्र नगरेर उपचारको लागि आएका विरामीको स्वास्थ्य माथि पनि खेलवाड गरेको पाइएको छ ।

हस्पिटल लाइनमा रहेको इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका श्रीमान योगेन्द्र मेहताले संचालन गरेको नेशनल मेडिकलले सिएमए राखेर उपचार गर्ने गरेको पाइएको छ । विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएरको मेडिकलमा सिएमए तारणी यादवले उपचार गर्ने गरेको पाइएको छ । यादव सप्तरीको रुपनी स्वास्थ्य चौकीमा कार्यरत सिएमए हुन् । पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सक बाहेक अरुले स्वास्थ्य जाँच गर्न नपाउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाइँले बताए ।

‘फार्मेसीले औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ भने पोलिक्लिनिकले स्वास्थ्य कार्यालयबाट लिनुपर्छ,’ उनले भने, ‘पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच मात्र गर्ने हो । थप उपचार गर्नुपर्ने अवस्था आए सम्बन्धन प्राप्त गरेको अस्पतालमा रेफर गरेर उपचार गर्नुपर्ने हुन्छ ।’ तर, च्याउसरी खुलेका इनरुवाका पोलिक्लिनिक र फार्मेसीले विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएर सिएमए, अहेब र फर्मासिस्टले उपचार गरेर विरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको अनुगमनको क्रममा भेटिएको हो ।

‘१३ वटा फार्मेसी, पोलिक्लिनिक र मेडिकल हलहरु अनुगमन गरियो,’ उनले भने, ‘धेरैलाई मापदण्ड पूरा गरी प्रक्रियामा ल्याएर संचालन गर्न हामीले निर्देशन दिएका छौं ।’ मापदण्ड र नीति नियम बेगर संचालन गरेको पोलिक्लिनिक र मेडिकल हलले अटेरी गरे कारवाहीको दायरामा ल्याउने उनले बताए ।

यसैबीच इनरुवामा रहेका मेडिकलहरूको अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको टोलीलाई मेडिकल व्यवसायीहरूले दुई घण्टा थुनेका छन् । स्वास्थ्य क्षेत्रमा चरम बेथीति देखा परेपछि अनुगमनमा पुगेको टोलीलाई सोमबार व्यवसायीहरुले दुइ घण्टा थुनेका हुन् ।

अनुगमनका क्रममा कागजपत्र चेकजाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुनेका छन् । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुनेको हो ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेलगायत रहेका थिए ।

उनीहरूले इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताको मेडिकलमा समेत चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई थुनेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडाले बताए ।
अनुगमनको क्रममा नुरुव फार्मेसी, शशी मेडिकल, सायमा फार्मेसी, कोशी डिजिटल एक्सरे, इमेज मेडिकल हल, दिपशिखा फार्मेसी, अल्का फार्मेसी, ठाकुर फार्मेसीको अनुगमन गरेको थियो । यस्तै नुतन ल्याब, जनसेवा फार्मेसी, हिमाल आइ केयर सेन्टर, रिमा मेडिकल हल र नेसन मेडिकल हलको अनुगमन गरेको थियो ।

यता व्यवसायी मेहताले भने अनावश्यक रुपमा अनुगमन टोलीले प्रश्न गरेको र पूर्वाग्राही भएर प्रस्तुत भएकाले व्यवसायीहरुले विरोध गरेको बताए ।

मङ्गलबार, ०९ साउन, २०८०, बिहानको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर