उपमेयरको मेडिकलमा अनुगन गरेपछि विवाद , अनुगमन टोलीलाई इनरुवाका मेडिकल व्यवसायीले थुने

विराटनगर । इनरुवामा अनुगमनमा पुगेको टोलीलाई मेडिकल व्यवसायीहरूले अवरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई मेडिकल व्यवसायीहरूले अवरोध गरेका हुन् । अनुगमनका लागि टोली पुग्ने बित्तिकै विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर व्यवसायीहरूले नाराबाजी गरेका थिए ।

अनुगमनमा जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेलगायतको टोली थियो । अनुगमन टोलीलाई अवरोध पुर्‍याउनेमा इनरुवा नगरपालिकाकी उपमेयर विनिता मेहताको श्रीमान् पनि रहेका थिए । अनुगमन टोलीले उपमेयर मेहताको नेशनल मेडिकलमा पनि चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । अनुगमन टोलीले कर तिरेको कागज मागेपछि विवाद बढेको थियो । विवाद बढेपछि अनुगमन टोली विराट डाइग्नोस्टिकतर्फ लागेको थियो ।

विराट डाइग्नोस्टिकमा छिर्न साथ सटर लगाएर व्यवसायीले नाराबाजी गरेका अनुगमन टोलीका एक सदस्यले बताए । उपमेयरले भने अनुगमन समितिका सदस्य देवराज घिमिरेले ज्यादती गरेका कारण थुनिएको भन्ने सुनेको बताइन् ।

‘सबै मेडिकल अवैधानिक छैनन् । केहीले कर मात्रै नतिरेका छन् । मोटरसाइकल चलाउनेसँग लाइसेन्स भएन भने जरिवाना लिने गरिन्छ । त्यस्तै कर नतिर्नेलाई कर तिर भनेर फाइन लिने हो । आतङ्क देखाउनु त भएन नि’ उनले भनिन् ।

श्रीमान्‌को संलग्नताबारे आफूलाई थाहा नभएको उनले बताइन् । स्थानीय तहले समेत अनुगमन गरिरहेको उनको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने इनरुवामा भएका अधिकांश मेडिकलहरू दर्ता तथा नवीकरण नभएको पाइएको जनाएको छ । ‘धेरैको दर्ता रहेनछ,’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘दर्ता गर्नेले नवीकरण गरेका छैनन् ।’ उनले कर्मचारी र व्यवसायीबीच छलफल भइरहेको जानकारी दिइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा फार्मेसीको आज देखी अनुगमन शुरु गरेको छ ।

सोमबार, ०८ साउन, २०८०, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर