लोड हुँदैछ...

मेनु

रंगेलीका मेयरको आपत्तिजनक मनपरी

रंगेलीका मेयरको आपत्तिजनक मनपरी

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवाल (बगडिया) ले आफ्नो उद्योगको तयारी खाजा विद्यालयहरुले अनिवार्य खरीद गर्नैपर्ने जुन उर्दी गरेका छन्, त्यो सोझो भ्रष्टाचार हो । राजनीतिक शक्तिको आडमा मेयरले नगरभरीका सबै सामुदायिक स्कुलहरुलाई आफ्नो उद्योगको खाजा किन्न बाध्य पारेका छन् । उनको परिवारले चलाएको उद्योग, जसले जंकफुड उत्पादन गर्छ, त्यही खाजा कलिला विद्यार्थीलाई खान लगाउने काम विद्यार्थीमाथिको अन्याय हो । कलिला विद्यार्थीको पोषणयुक्त र ताजा खाजा खान पाउने अधिकारमाथि मेयरको स्वार्थ हाबी हुनु र त्यसलाई सबै विद्यालयहरुले शिरोपर गर्नु आपत्तिजनक छ ।

कुनै पनि राजनीतिज्ञ होस् अथवा कर्मचारी आफ्नो पदीय शक्तिको आडमा राज्यकोषमा मनपरी गर्ने छुट हुँदैन । तर, रंगेलीमा जसरी आफ्नो व्यापारिक हित अनुकूल राज्यकोष दुरुपयोग गरिरहेको घटना बाहिर आएको छ, यो अनियमितताको एउटा चित्रध हो । रंगेलीमा चलिरहेको यो अनियमितता तत्काल रोकिनुपर्छ । कलिला विद्यार्थीलाई राज्यले पोषणयुक्त खाजाका लागि दिएको पैसा मेयरको उद्योग पोस्ने स्वार्थमा खर्च गरिनु जायज छैन । यसमा अख्तियार, विद्यालयका अभिभावकदेखि सबै सरोकारवालाको ध्यान जानुपर्छ । मेयरले स्कुलहरुमा लादेको उर्दीविरुद्ध विद्यालयहरु पनि उभिन जरुरी छ ।

संघीय सरकारले सामुदायिक विद्यालयको कक्षा ६ सम्म पढ्ने विद्यार्थीको संख्या गनेर प्रति विद्यार्थी १५ रुपैयाँ दिने गरेको छ । यो रकम नै यति न्यून छ कि यसले विद्यार्थीलाई कस्तो र कति खाजा आउला भन्ने बहस अलग्गै छ । यो मुलुकका नीति निर्माता राजनीतिज्ञ र कर्मचारीका सन्तानले १५ रुपैयाँकै खाजा खालान् ? यो प्रश्न अलग्गै छ । तैपनि प्राप्त रकमलाई विद्यालयहरुले अधिकतम उपयोग गरेर विद्यार्थीलाई खाजा खुवाउने प्रयास गरिरहेका छन् । रंगेलीमा भने विद्यालयहरुलाई पत्रु भनिने जंक फुड दिने गरिएको छ । मेयरको उद्योगको सामान बेच्न विद्यार्थीलाई पत्रु खाजा दिने अन्याय कुनै पनि हालतमा स्वीकार्य हुनुहुँदैन ।

रंगेलीका मेयर अग्रवाल विभिन्न उद्योगका मालिक पनि हुन् । उनले बिना प्रतिष्पर्धा आफ्नै उद्योगका सामान नगरभरी जबरजस्ती प्रयोग गर्न लगाइरहेको बारे कर्मचारीहरु बेखबर छैनन् । तर कर्मचारीहरुले साँधेको मौनता अख्तियार दुरुपयोगलाई दिइएको साथ हो । यसले जनप्रतिनिधिको आवरणमा मेयरले प्रदर्शन गरिरहेको व्यापारिक स्वार्थलाई मात्रै छर्लङ्ग पार्दैन, कुनै पनि राजनीतिक व्यक्तिले राज्यकोषमा कसरी वक्रदृष्टि लगाउँछ भन्ने पनि देखाउँछ । सबैभन्दा उदेकलाग्दो त के छ भने विद्यालय व्यवस्थापन समितिदेखि शिक्षक ,अभिभावकसमेतले मेयरको अनियमितताविरुद्ध उभिने हिम्मत देखाएका छैनन् । र्रंगेलीको दिवा खाजा प्रकरण तत्कालै छानबिन हुनुपर्ने विषय हो । शिक्षा क्षेत्रमा सक्रिय संघसंस्थाहरुले यसमा उच्च चासो दिनुपर्छ ।

यति मात्रै होइन, नगरपालिका मार्फत हुने निर्माण सम्बन्धि काममा पनि मेयरकै उद्योगको इँटा बिना परीक्षण र प्रतिष्पर्धारहित रुपमा प्रयोग भइरहेको छ । राज्यले खरिद गर्ने हरेक वस्तु र सेवा प्रतिष्पर्धामार्फत लिनुपर्ने कानुनी व्यवस्था छ । तर, रंगेलीका हकमा यो किन लागु भएको छैन भने मेयर आफै इँटा उद्योगी पनि हुन् । यसरी आफ्नो व्यापारिक स्वार्थ पूर्ति गर्ने काममा राज्यकोष खर्चिने र बालबालिकाको आधारभूत अधिकार खोस्ने मेयरले यो कदम सच्याउनुपर्छ । रंगेलीका हरेक वस्तु र सेवा खरिद प्रक्रियाको छानबिन पनि हुन जरुरी छ । सबै जनप्रतिनिधि र तिनका मतियार बनेका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।