विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–८४ को बजेटसम्म आइपुग्दा केही पुराना नाराहरूले निरन्तरता पाएका छन् भने केही नयाँ नाराहरू थपिएका छन् ।
प्रदेशको मूल राजनीतिक सोच र दीर्घकालीन मार्गचित्रको रूपमा लामो समयदेखि सुरु भएको ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को नाराले चालू आर्थिक वर्ष २०८३–८४ को बजेटमा समेत प्रमुख स्थान पाएको छ ।
यसैगरी खानेपानी क्षेत्रमा अत्यन्त लोकप्रिय बनेको ‘एक घर, एक धारा’ को अवधारणा पनि आर्थिक वर्ष २०८१–८२, २०८२–८३ हुँदै यस वर्षको बजेटमा पनि निरन्तर रूपमा समावेश छ । यो नारा र कार्यक्रमलाई प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रूपमा निरन्तरता दिएको छ ।
महिला सशक्तीकरण र दलित तथा सीमान्तकृत समुदायका छोरीहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ अघि सारिएको ‘सक्षम छोरी’ कार्यक्रम र यसको नारा विगतका दुई बजेटमा जस्तै यस वर्ष पनि निरन्तरता पाउन सफल भएको छ । युवा तथा किशोरीहरूलाई सामाजिक विकृति, बालविवाह र लागुऔषध दुव्र्यसनीबाट टाढा राख्न सुरु गरिएको ‘म अघि बढ्छु’ अभियान र यसको नारा पनि तीनवटै बजेटमा निरन्तर रूपमा समेटिँदै आएको छ ।
कृषि सुधार र माटोको उर्वराशक्ति बचाउनका लागि अघि सारिएको ‘स्वस्थ माटो, स्वच्छ बाली’ अभियान पनि विगतका तीनवटै बजेटमा निरन्तर रूपमा दोहोरिएको छ । जसले कृषि क्षेत्रमा माटो परीक्षण र प्राङ्गारिक मल प्रयोगलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको स्पष्ट पार्छ ।
यद्यपि, विगतमा निकै जोडतोडका साथ ल्याइएका केही नाराहरू भने यस पटकको बजेट वक्तव्यमा हराएका छन् । आर्थिक वर्ष २०८१–८२ को बजेटमा ज्येष्ठ नागरिकको अनुभव र सीप पुस्तान्तरण गर्ने उद्देश्यले ल्याइएको ‘कोशी प्रदेशको सान, ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नारा त्यसपछिका बजेटमा हराएको छ । यस्तै, सोही वर्ष पर्यटन प्रवद्र्धनका लागि ल्याइएको ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा पनि यस पटकको बजेटमा हटाइएको छ । यद्यपि ‘कोशी प्रदेश भ्रमण वर्ष’ को अवधारणालाई भने कायम राखिएको छ ।
आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्यमा केही नयाँ, रोचक र सामाजिक रूपमा प्रभावकारी नाराहरू थपिएका छन् । यस पटकको बजेटमा चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापनलाई अत्यन्त संवेदनशीलताका साथ समेट्दै ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नयाँ नारा अघि सारिएको छ ।
यो नाराअन्तर्गत चुरे क्षेत्रको संवेदनशील जग्गा संरक्षणका लागि भूमिगत जल पुनर्भरण पोखरी निर्माण, पहिरो नियन्त्रण र बायोइन्जिनियरिङका कामहरूलाई अघि बढाउने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।
यसैगरी गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपाली मूलका समुदायलाई आफ्नो मातृभूमि नेपालको प्राकृतिक सौन्दर्य र भूगोलसँग जोड्न तथा अपनत्व बढाउनका लागि यस पटक ‘नेपाली मन, आत्मियपन’ नामक नयाँ अभियान र नारा घोषणा गरिएको छ
स्वास्थ्य क्षेत्रको प्रवद्र्धन र चेतना अभिवृद्धिका लागि यस पटकको बजेटमा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई महत्वका साथ समेटिएको छ । यो नाराअन्तर्गत नसर्ने रोगहरूको रोकथामका लागि समुदाय स्तरमै स्क्रिनिङ र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी महिलाहरूको प्रजनन स्वास्थ्य र गम्भीर प्रकारका क्यान्सरहरूको समयमै निदान गर्नका लागि ‘समयमै पहिचान, समयमै उपचार; महिलाको स्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा यस पटकको बजेटमा समावेश गरिएको छ । यसले पाठेघर र स्तन क्यान्सर जस्ता घातक रोगहरूको निःशुल्क परीक्षण र उपचारमा राज्यको उत्तरदायित्व बढाउन मद्दत पु¥याउने सरकारको दाबी छ ।
त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको हौसला बढाउन र उनीहरूको योगदानलाई कदर गर्नका लागि यस पटकको बजेटमा ‘महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान, स्वस्थ समाज निर्माणमा निरन्तर योगदान’ भन्ने नारा अघि सारिएको छ । जसले प्राथमिक स्वास्थ्य सेवामा खटिने महिला स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्ने नयाँ नीति समेटेको छ ।
कोशी प्रदेशको बजेटमा पुराना र नागरिक स्तरमा लोकप्रिय बनिसकेका कार्यक्रमका नाराहरूलाई निरन्तरता दिँदै वन, वातावरण, चुरे संरक्षण, गैरआवासीय नेपालीहरूको सहभागिता रस्वास्थ्य चेतनाका लागि नयाँ नाराहरू तय गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।