विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दलका नेताको बैठकमै बोलाएर गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन् । त्यसअघि सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरेको भएपनि राप्रपाको समर्थन नहुँदा के गर्ने भन्ने अन्यौल थियो ।
गठबन्धन दलले राप्रपाको समर्थन प्राप्त नभएपनि थापालाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख पर्शुराम खापुङकोमा दाबी पेश गर्न निर्देशन दिएका हुन् । काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसमेतलाई शीर्ष बैठकमा आमन्त्रण गरी यस्तो निर्देशन दिइएको हो । नेताहरुको निर्देशनपछि दलका नेताहरु मुख्यमन्त्रीको दाबी पेश गर्न काठमाडौंबाट विराटनगर फर्कंदैछन् ।
कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रबार विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।