विराटनगर । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा रहेको मेन्छ्यायेम अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
सोमबार कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले एक कार्यक्रमको आयोजना गरेर एम्बुलेन्स हस्तान्तरण गरिएको हो । प्रदेश स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुखका प्रमुखका स्वकीय सचिव अमृत खापुङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङको घर मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ हो । प्रदेश प्रमुखसँगको भेटमा अस्पतालमा कार्यरत नर्स सुम्निमा खापुङले एम्बुलेन्सको आवश्यकता रहेको भन्दै पहल गरिदिन आग्रह गरेकी थिइन । उनले त्यसपछि चासो लिएका थिए ।
अस्पतालले एम्बुलेन्स उपलब्ध भएपछि गाउँमा धेरै बिरामीलाई राहत हुने मन्त्री मेन्याङ्बोको भनाइ रहेको छ । मेन्छ्यायेम गाउँपालिकामा मात्र नभई छिमेकी पालिका र छिमेकी जिल्लालाई समेत सहयोग पुग्ने मन्त्री मेन्याङ्बोले बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको उपस्थिति रहेको थियो ।