लोड हुँदैछ...

मेनु

कोशी नामकरण विवाद

ढल्ने निश्चित भएपछि सरकारले बनायो वार्ता समिति

ढल्ने निश्चित भएपछि  सरकारले बनायो वार्ता समिति

सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मंगलबार नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

फागुन १७ मा प्रदेशको कोशी नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका हुन् । यसअघि सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले वार्ताबाट समस्या समाधान गर्न र वार्ता समिति बनाएर अगाडि बढ्न आग्रह गर्दा कार्कीले अस्वीकार गर्दै आएका थिए ।

माओवादी केन्द्र र जसपाले प्रदेशका नागरिकको आन्दोलनलाई सुनुवाई गर्न नसकेको भन्ने कारण समेतका आधारमा प्रदेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कार्कीले वार्ता समिति बनाएका हुन् । प्रदेशका खानेपानी तथा सिँचाइमन्त्री तिलकुमार मेयाङ्बोको नेतृत्वमा बुधबार तीन सदस्यीय वार्ता टोली गठन भएको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।

समितिको सदस्यहरूमा कृषिमन्त्री सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी छन् । फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ भने झडपहरू नियमित रूपमा भइरहेका छन् ।

पहिचानवादीको आन्दोलनको कारण प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पहाडी जिल्लामा जानसमेत सकेका छ्रैनन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।