विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका विराटचौकमा रहेका २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटचौक ५ बस्ने ३६ वर्षीय देवराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर ए भिजन एकाउन्ट सोलुसन प्रा.लि. फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी पैसा निकालेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार उनले विभिन्न समयमा २८ हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पनि पटक पटक गरेर ६६ हजार आठ रुपैयाँ पैसा निकालेको उजुरी परेको छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

