विराटनगर । भारतबाट संगठितरूपमा तोरीको तेल तस्करी हुँदा पूर्वका उद्योगले ८० प्रतिशतसम्म क्षमता घटाएका छन् ।
नेपाल चामल, तेल, दाल उत्पादक संघका उपाध्यक्ष एवम् विराटनगरको चन्द्रशिव आयल मिलका सञ्चालक नरेश राठीले तेल तस्करीका कारण स्वदेशी उद्योग समस्यामा परेको बताएका छन् । ‘यो समस्या देशभरिकै दक्षिणी सीमा क्षेत्रमा हो,’ उपाध्यक्ष राठीले भने, ‘तपाईलाई १० ग्यालिन तेल चाहियो कि १ हजार ग्यालिन ! सीमापारिको बजारमा गएर अर्डर दिनोस्, भोलिपल्ट तपाईंका घर वा पसलमै तेल आइपुग्छ । तपाईंले बोकेर ल्याइरहनु पर्दैन ।’
उद्योगी राठीका अनुसार धेरैजसो १ लिटरको पाउच वा प्लास्टिक बोतल र ५ लिटरको ग्यालिनको भारतीय तेल अनधिकृत रूपमा नेपाल भित्रिरहेको बताए । राठीले सुनाए, ‘हाम्रो उद्योगमा तेलका २ वटा युनिट छन् । त्यसमा एउटा त बन्द नै छ। अर्को युनिट दैनिक ८ घण्टा मात्र चल्छ । यसरी १५ देखि २० प्रतिशत क्षमतामा उद्योग चलाउनु परेको छ । उनले यही स्थिति असार मसान्तसम्म नै रहे तोरीको तेलका अकिकांश उत्पादकहरू धेरै अप्ठ्यारोमा पर्ने दाबी गरे । राठीका अनुसार सीमावर्ती नेपाली पसलहरूमा तस्करीको भारतीय तेल बिक्रीका लागि खुलमखुल्ला राखिएका छन् । तर सरकारी निकायले कुनै अनुगमन नगरेको गुनासो नेपाली उद्योगी व्यापारीहरुको छ ।
उनको प्रश्न छ, ‘हप्तैपिच्छे करको अनुगमन गर्न भनेर राजस्व कार्यालयका अधिकारीहरू उद्योग वा व्यापारिक प्रतिष्ठानमा आउनुहुन्छ । तर कताबाट राजस्व छली भइरहेको छ भन्ने कुरामा उहाँहरूले ध्यान पु¥याउन सकेजस्तो लागेन । तस्करीको तेलले राजस्वको ठुलो हिस्सामा धक्का पुगेको छ । राजस्व कार्यालयले यो अनुगमनलाई पसलपसलमा लैजाने हो भने तस्करीमा धेरै नियन्त्रण हुन्छ ।’
धारा तेलको उत्पादक केएल दुगड समूहका विराटनगरस्थित प्रबन्धक किरण डागाका अनुसार नेपालमा भन्दा भारतमा तोरीको तेल लिटरमा ७० रुपैयाँसम्मले सस्तो छ । अनधिकृत व्यापार गर्नेहरूले मूल्यको यही फरकको फाइदा उठाइरहेका छन् । प्रबन्धक डागाले तोरीको तेलको बिक्रीमा ७० प्रतिशतभन्दा बढीले घटेको उल्लेख गर्दै तस्करीको तेल नियन्त्रण नभएसम्म समस्या उस्ताको उस्तै भइरहने धारणा प्रकट गरे ।
‘तीन चार महिनायता त संस्थागत र संगठित रूपमै अवैध आयात बढेको छ,’ डागाले भने, ‘नेपाली उपभोक्ता पारिको बजारमा गएर तेलको ५ लिटरको ग्यालिन ल्याएका कारण समस्या भएको होइन । यसले खासै असर गर्दैन । तर, सीमा क्षेत्रबाट हुने खुला र योजनाबद्ध तस्करीले स्वदेशका सबै उद्योगीलाई दुःखी बनाएको छ ।’ उनले व्यवसायिक संघसंस्थाले प्रहरी प्रशासनसँगको हरेक बैठक र छलफलमा अवैध आयातसम्बन्धी मुद्दा उठाउने गरेको तर कार्यान्वयन र कडाइप्रति कसैको ध्यान नपुगेको गुनासो गरे । उनले यो समस्या देशव्यापी भएको र तस्करहरूले नै घर वा पसलसम्म जति चाहिए पनि क्यारिङ चार्ज (ढुवानी शुल्क) नलिई तेल ल्याइदिने भएपछि सस्तो भारतीय तेल छाडेर नेपालको महँगो तेलमा कसले ध्यान लगाओस् भन्दै आश्चर्य व्यक्त गरे ।
डागाले भारतबाट पनि धारा तेल नै तस्करी भएर आइरहेको र नेपालका उपभोक्ता दुगडको उत्पादन यही हो भनेर झुक्किने गरेको बताए । सुनसरीको जेके आयलका सञ्चालक जितु तापडियाले दुई दशकको आफ्नो व्यवसायिक करिअरमा अहिलेको जस्तो खराब स्थिति कहिल्यै अनुभव नभएको बताए । उद्योगी तापडियाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तोरीको मूल्य घट्दा नेपालमा पनि त्यसको असर परेको र तोरीको तेलको मूल्यमा ह्रास आएको उल्लेख गरे ।
उनले लिटरको ४ सय पुगिसकेको तोरीको तेल अहिले २८० देखि ३०० रुपैयाँको हाराहारीमा आइपुग्दा पनि बिक्री बढ्न नसकेको जानकारी दिए ।
‘वस्तुको मूल्य घट्दै गएपछि त्यसको बिक्री बढ्दै जानुपर्ने हो,’ उनको भनाइ छ, ‘तर यहाँ उल्टो भएको छ । मूल्य र बिक्री दुवै घटेको छ ।’ मोरङको तोरीको तेल उद्योग श्याम एग्रोका सञ्चालक श्रवण अग्रवालले महिनामा १० देखि १२ दिन मात्र उद्योग सञ्चालन भइरहेको सुनाए ।
अग्रवालले भने, ‘उद्योगको गोदाम तयारी तेलका कार्टुनले भरिएका छन् । अब त उत्पादन गरेर कुन गोदाममा राख्ने भन्ने समस्या छ । मालको अर्डर र भुक्तानी दुवै आउँदैन ।’ उनले अवैध आयात गरेर ल्याइएको तोरीको तेल बजारमा छ्याप्छ्याप्ती उपलब्ध भइरहँदा सरकार के गर्दैछ भन्ने प्रश्न गर्दै संगठित र संस्थागत तस्करी नरोकिएसम्म उद्योगले लय पक्रिन नसक्ने स्पष्ट पारे । उनले लकडाउनका बेला सीमा क्षेत्रमा कडाइ हुँदा नेपालका सबै तोरीको तेलका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएको स्मरण गरे ।

