लोड हुँदैछ...

मेनु

नक्कली नोट बाहक पक्राउ पर्छन्, छाप्ने चाँही कहाँ छन् ?

नक्कली नोट बाहक पक्राउ पर्छन्, छाप्ने चाँही कहाँ छन् ?

विराटनगर ।गत साउन र भदौमा नेपाली नक्कली नोटको कारोबारी गर्दै एक जना व्यक्ति मोरङ र सुनसरीमा झण्डै ४५ दिन दौडधूप गरिरहे । उनको मुख्य मक्सद थियो नक्कली नोटको मार्केटिङ गर्नु ।पाएको सूचना अनुसार काठमाडौंमा रहँदै बस्दै आएका उनले आफ्ना साथीभाई मार्फत नक्कली नोटको कारोबार गर्नेबारे मार्केटिङ गर्थे ।

उनको स्किम पनि लोभलाग्दो थियो, ‘एक लाखका बिटोमा १५÷२० हजार रुपैयाँका नक्कली नोट राखेर बैंकमा जम्मा गरे ठाउँको ठाउँ कमिसन दिने ।’ त्यो पनि नक्कली जम्मा गरेवापतको सक्कली २/३ वटा हजारिया । नक्कली नोटको कारोबारी गम्भीर राष्ट्रघात हो । यही कर्ममा लागेका कतिपय नोट बाहक पक्राउ परेपनि यसको संगठित गिरोह पक्राउ पर्दैन । अहिले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाएको विषय चर्चामा छ । स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको कारोबारमा पनि उपल्लो तहबाटै सेटिङ भइरहेको छ ।

गत भदौ २६ गते झापा विर्तामोड नगरपालिका–३ कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परिन् । पक्राउ पर्ने उनी झापा कन्काइ नगरपालिका १ घर रहेपनि विर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन् ।

यस्तै प्रहरीले गत असोज २ गते सुनसरीको देवानगञ्ज ४ बाट हरि मेहताले लिएर आएको १ हजार दलका ६ वटा नक्कली नोट प्रहरीले बरामद गर्यो । यस्तै प्रहरीले यही वैशाख २१ गते १ हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद गर्यो । बरामद नोट लिएर आउन सुनसरी गढी गाउँपालिका २ का ३८ वर्षीय महमद जमिल पक्राउ परे । प्रहरीले दिएको जानकारी अनुसार उनले इटहरी १ आपगाछीमा लागेको सिरुवा मेलामा नक्कली नोट दिएर कारोबार गरेका थिए । यस्तै प्रहरीले गत फागुन २४ गते उदयपुरको कटानी नगरपालिका १२ बाट ५ सयदरको एउटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो ।

चालू आर्थिक वर्षमै भएका यी घटनाहरुले नक्कली नोटको धन्दा नरोकिएको प्रष्ट हुन्छ । विगत वर्षहरुमा पनि नक्कली नोट लिएर आउने बाहकहरु पक्राउ नपरेका होइनन् । तर, अहिलेसम्म नक्कली नोटको संगठित ढंगले कारोबारको धन्दा चलाउने गिरोह भने पक्राउ पर्न सकेको छैन ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेशनाथ बाँस्तोलाले नक्कली नोटको कारोबार गर्नेहरुको जरोसम्म पुग्न अनुसन्धान भइरहेको बताए । ‘विगत देखि नै अनुसन्धानको रुपमा यो केस रहेको छ । हामीले भर्खरै मात्रै सुनसरीमा नक्कली नोट बरामद गरेका छौं । त्यहाँ संलग्न कारोबारीलाई पनि पक्राउ गरेका छौं । उनको विषयमा अनुसन्धान भइरहेको छ,’ बाँस्तोलाले भने, ‘अनुसन्धान गरेर जरैसम्म पुगेर कारबाही गर्छौं । यसभन्दा अगाडि पनि त्यसरी कारबाही भएको छ । यो प्रक्रियालाई पनि अनुसन्धान गरेर हामी नक्कली नोट कारोबारीको जरोसम्म पुग्छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds