विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले शुक्रबार दिउँसो केएल दुगर्डका लेखापाल विनोदकुमार मुरारकासहित तीन जनालाई ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित पक्राउ गर्यो । मुरारका ३२ वर्षदेखि दुगर्डको कम्पनीमा काम गर्दै आएका थिए । प्रहरीले मुरारकासहित उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामत पनि पक्राउ परेका छन् ।
मुरारकालाई त्यति धेरै सुन, चाँदी र भारतीय रकम साढे ७ लाख पक्राउ परेसँगै विभिन्न अड्कल बाजी भइरहेको छ । के मुरारका भारुको अवैध कारोबारी हुन् ? उनले सुनचाँदीको अवैध कारोबार गर्दै आएका छन् ? या उनले नियम कानुन नबुझेर त्यति धेरु सुनचाँदी र भारतीय नोट लिएर भारत गएका हुन भन्ने विषयमा विभिन्न अड्कल भइरहेको छ ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार त्यही विषयको खोजी र अनुसन्धानका लागि उनको कलडिटेल माग गरिएको छ । कलडिटेलमा सुनचाँदी व्यापारी वा अवैध भारतीय नोट कारोबारीसँग पनि जोडिएका छन् कि छैनन् भन्ने विषयमा प्रष्ट हुने प्रदेश प्रहरी कार्यालय स्रोतले बताएको छ ।
प्रहरीले उनीमाथि शंका गर्ने केही आधारहरु भेटेपनि अवैध कारोबार गरेको पुष्टि हुने कुनै पनि आधार फेला पारेको छैन । प्रहरी स्रोतका अनुसार मुरारका केएल दुगर्ड कम्पनीका भरपर्दा लेखापाल हुन् । यद्यपि उनी शोखिन थिए । ‘उनको कमिजको बटन पनि सुनको थियो, कमिजको चेन पनि सुनकै थियो,’ प्रहरी स्रोत भन्छ, ‘आफूले शरीरमा लगाएको कपडाकै चेन र बटन सुनको बनाएर अवैध तरिकाले भारत लैजाने गरेको हो कि भन्ने अनुसन्धान पनि प्रहरीले गरिरहेको छ । यद्यपि उनले आफ्नो शोखले यस्तो गरेको प्रहरीलाई बताएका छन् ।’
उनको छोरा र बुहारी भारतको अहमदावादमा बस्छन् भने छोरी ज्वाई भारतको पूर्णियामा बस्छन् । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरु छोरा र छोरीलाई भागबण्डा गर्दिन भारत लिएर गएको उनले प्रहरीलाई बयान दिएका छन् । अवैध साढे ७ लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनले बताएको प्रहरीले जनाएको छ । यद्यपि ठूला घरानाका लेखापालले बिल बिनाको सुनचाँदी तथा नेपालमा प्रतिबन्ध रहेको भारतीय नोट बोकेर किन हिंडे भन्ने विषय शंकाकै घेरामा रहेको प्रहरीले जनाएको छ । नेपालमा २५ हजारसम्म १ सय दर भन्दा मुनीका भारतीय नोट बोक्न पाउँछ । तर, १ सय बढी दरका नोटहरु नेपालमा अवैध छ ।

प्रहरीस्रोतले दिएको जानकारी अनुसार उनको विराटनगरस्थित पोखरिया स्कुल छेउमा भव्य घर छ । भारतीय नागरिक रहेका उनको नाममा घर कसरी आयो भन्ने विषय पनि खुलेको छैन । नेपाली नागरिकता नलिइ घरजग्गा उनको नाममा हुन नसक्ने प्रहरी स्रोतको भनाइ छ । उनीसँग भारतको बिहारस्थित कटिहारको वडा नम्बर १७ को आधार कार्ड रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार मुरारकाले संगठित तरिकाले सुन तस्करी र अवैध नोटको कारोबारी गर्ने गरेको पर्याप्त आधार नदेखिएपनि आफ्नो सम्पत्ती विस्तारै भारत लगेको हो कि जस्तो देखिएको बताए । ‘मुरारका भारतीय हुन् । केएल दुगर्डको जागिरबाट रिटायर्ड हुन लागेका थिए । विस्तारै विस्तारै आफ्ना सामान भारततिर लग्ने सोचले गरेको हुनसक्छ । कुनै कुनै सामानहरु छरछिमेकीले लगिदिनुन भनेर दिएर लान लागेको थियो कि जस्तो पनि देखिन्छ । सामान हेर्दा घरायसी गरगहनाहरु धेरै छन्,’ पोखरेलले भने, ‘उनी सम्पत्ती हुने नै मानिस हुन् । आफ्नो झिटीगुन्डा बोकेर भारत जान लागेको जस्तो देखिन्छ ।’
पोखरेलले काम छोडेर हिंड्दा ८–१० लाख रुपैयाँ त लिएर जसले पनि जानसक्ने बताए । ‘यसमा ठूलो इस्यु छ जस्तो देखिएको छैन । धेरै सुनका गहना भएको कारण उसले बिल भपाई देखाउन नसकेपछि पक्राउ गरेको हो,’ पोखरेलले भने, ‘उसको नियत अहिले नै देखिएको छैन । अनुसन्धानबाट थप कुरा खुल्दै जाला ।’
पक्राउ परेका तीनै जनालाई म्याद थप
पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल मुरारकासहित तीन जनालाई राजस्व अनुसन्धान कार्यालयले ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । राजस्व अनुस्न्धान कार्यालय इटहरीले हिंजै उच्च अदालत विराटनगरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरुको आजदेखि बयान लिने काम सुरु भएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । ‘बयान सकिएपछि धरौटी खुल्नेछ । बिगो बरावरको धरौटी खुल्छ,’ उनले भने, ‘राजस्वले तोकेको धरौटी बुझाउन नसके पुर्पक्षको लागि थुनामा जानेछन् ।’

उनीहरूको साथबाट प्रहरीले सुनको ठुलो बिस्कुट ३ थान ३० तोला, सानो बिस्कुट ६ तोला, सिक्काहरु ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, ह्यालिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको थियो । यस्तै चाँदी १७१९ ग्राम ११ थान ढिक्का, ९२.८० ग्राम बुनिया, २६८.३२ ग्राम ७८ थान सिक्का, चार मुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिन्धुर राख्ने सिसि ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा थान–३९७.८४ ग्रामको ६ थान, चम्चा थान–३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की थान ३७.८८ ग्रामको एक थान डिनरसेट ढोंगा ४ थान बरामद गरेको छ । सुन र चाँदी प्रहरीले बिराटनगर महानगरपालिका–१५ स्थितबाट बरामद गरेको हो ।
शुक्रबार दिउँसो बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (रिट) बाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको प्रहरी टोलीले शंकास्पद अवस्थामा विराटनगरबाट रानीतर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भेनलाई रोकेर चेकजाँच गर्ने क्रममा भेनमा लुकाईछिपाई राखेको अवस्थामा सुन र चाँदी बरामद गरेको हो । प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि उनीहरुको साथबाट बरामद गरेको छ । बरामद गरिएको सामानको मूल्य करिब ९० लाख रहेको छ ।

