विराटनगर । विराटनगरबाट प्रहरीले अवैध ५४ तोला सुन, चाँदी र ७ लाख ९० हजार भारतीय रुपैयाँसहित बरामद सामान र पक्राउ परेका केएल ग्रुपका कर्मचारीसहित तीन जनालाई आज राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी गरेको छ । प्रहरीले थप अनुसन्धानको लागि राजस्वमा पठाउन लागेको हो ।
बरामद सुन र पक्राउ परेका व्यक्तिलाई आज दिउँसो राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘शनिबार सार्वजानिक विदा भएकोले आज पठाउन लागेको हो,’ उनले भने ।
प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उक्त सामान बरामद गरेको हो । को २ च १४९५ नम्बरको भेनमा उक्त सामान सहित सवार रहेका ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेन चालक विराटनगर–२ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ वर्षीय विनोद कुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् । पक्राउ परेका मध्ये बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले विभिन्न दरका ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बराबरको भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।
बरामद गरिएका सामानहरु ९० लाख मूल्य बरावरको रहेको प्रहरीको दाबी छ ।
५४ तोला सुनसहित दुगड ग्रुपको कर्मचारी पक्राउ प्रकरण : आज राजस्व कार्यालय लैजादै
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।