विराटनगर । तेह्रथुमको छथर गाउँपालिकाले स्थानीय उत्पादनलाई मात्रै खाजामा प्रयोग गर्ने भएको छ ।कार्यालय प्रयोजनका लागि प्रयोग गरिने खाजामा स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
सोमवार बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यायले स्थानीय उत्पादनलाई खाजामा प्रयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाभित्र रहेका सबै सरकारी कार्यालय र सार्वजनिक कार्यक्रममा खाजा तथा खानाहरू स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने गरी निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
‘होटलहरूमा पनि स्थानीय उत्पादन बढाउन आज परिपत्र गर्दैछौं,’ प्रवक्ता नेपालीले भने, ‘सरकारी कार्यालयका नाममा अब चाउचाउ उमालेर कार्यालयमा विल पेश गर्न पाइदैन ।’
यसअघि सरकारी कार्यालयहरूले बाह्य वस्तु चाउचाउ, थुक्पा लगायतका खाजाहरू प्रयोग गर्दै आएका थिए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ निर्णय गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । ‘पालिकाभित्रकै कृषकले उत्पादन गरेका वस्तुहरू खाजामा प्रयोग गर्दा बजारीकरणका लागि पनि सहज भयो,’ गाउँपालिकाका अध्यक्ष सन्तवीर (सन्तोष) तिगेलाले भने, ‘सरकारी कार्यालयले खाजामा प्रयोग गर्ने बजेट पनि आफ्नै ठाउँका कृषकहरूसँग पुग्ने भयो । हाम्रो एउटा सानो प्रयासले उत्पादन बढाउने तथा आम्दानी समेत बढाउँछ भन्ने विश्वास छ ।’
पालिकामा आलु, इस्कुस, कोदो, फापर, गहुँ, मकै, जुनेलो, बदाम लगायतका खानेकुरा खाजाका रूपमा प्रयोग गर्न सकिने गाउँपालिकाको कार्यालयले जनाएको छ ।
स्थानीय उत्पादन प्रयोग गर्दा पालिकालाई समेत ठूलो आर्थिक भार नपर्ने अनुमान गाउँपालिकाको रहेको छ । स्थानीय होटलहरूले पनि गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको पालिकाको दाबी छ ।
राज्यकोषबाट सेवासुविधा लिने, जनप्रतिनिधि तथा कर्मचारीहरूले अनिवार्य शौचालय र सुधारिएको चुलो निर्माण गर्ने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको छ । पालिकामा बस्ने फरक क्षमता, एकल व्यक्ति, असहायलाई पालिकाले सहयोग गर्ने जनाइएको छ ।

