संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा संचालित कोशी प्रदेश स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । तीनपोखरी समाज विकास क्लवको आयोजनामा भएको कोशी प्रदेश स्तरीय खुल्ला पुरुष डवल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाका सृजल पोख्रेल र प्रविन लिङथेपको जोडी प्रथम भएको छ ।
खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ वैशाख १५ गतेबाट कोशी प्रदेश स्तरीय पुरुष डवल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो । खाँदबारीमा सञ्चालित प्रतियोगिताको उपाधि संखुवासभाका पोख्रेल र लिङ्थेपको जोडीले तेह्रथुमका नविन सिलवाल र विवेक कान्दावाको जोडीलाई २५–२२ र २१–१५ को सोझो सेटमा हराएर जितेका हुन् ।
संखुवासभाका पोख्रेल र लिङ्थेपले नगद ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेह्रथुमका सिलवाल र कान्दावाले नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेको तीन पोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए । त्यस्तै गरी सान्त्वना भएका भोजपुरका निश्चल क्षेत्री र विशाल तामाङ र मोरङका लाक्पा शेर्पा र महेश खड्काको जोडीले नगद १०÷१० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ११ टिमको सहभागिता रहेको तीनपोखरी क्लवका तुलाराम आलेले बताए । तीनपोखरी क्लवले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको यो तेस्रो पटक हो ।