विराटनगर । औद्योगिक नगरी विराटनगर र आसपासमा सञ्चालित उद्योगहरुको नेतृत्व गर्दै आएको उद्योग संगठन मोरङमा आसन्न साधारणसभाको चहलपहल सुरु भएको छ । साधारणसभाको मिति नजिकिएसँगै संगठनको नेतृत्वको सवाललाई लिएर चर्चा सुरु भएको छ ।
सुनसरी–मोरङ औद्योगिक करिडोर सञ्चालित उद्योगका सञ्चालकहरु सदस्य रहेको उद्योग संगठन मोरङको आउँदो साधारणसभामा २३५ सदस्य सहभागी हुनेछन् । करिडोरका उत्पादन उद्योगका सञ्चालकहरु मात्र सदस्य रहेको संगठनको विधानमा प्रोक्सी मतको व्यवस्था छैन । विधानले सञ्चालक स्वयं प्रत्यक्ष उपस्थित भएर मतदानमा सहभागी हुनुपर्ने व्यवस्था गरेको छ । उद्योग संगठन मोरङले वैशाख २९ गते ५० औं साधारसभा उद्घाटन गर्ने र ३० गते निर्वाचन गर्ने कार्यक्रम तय गरिसकेको उद्योग संगठन मोरङले जनाएको छ ।
संगठनका वर्तमान अध्यक्ष सुयश प्याकुरेलले दुई वर्षे कार्यकाल पूरा गरी आउँदो साधारणसभाबाट नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका छन् । संगठनको विधानमा पुनः नेतृत्व गर्ने बाटो खुला रहेपनि उनले कार्यकाल दोहो¥याउने इच्छा गरेका छैनन् । अध्यक्षले पुनः नेतृत्वका लागि आकांक्षा नगरेपछि संगठनको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायतले आगामी नेतृत्वका लागि पहल बढाएका छन् ।
अध्यक्ष पदका लागि संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी र बोर्ड सदस्य राकेश सुरानाले इच्छा देखाएका छन् । उनीहरुले आन्तरिक तयारीलाई समेत तीब्र पारेका छन् । थोरै सदस्य संख्या भएपनि सबै पक्षसँग तालमेल र समन्वय मिलाउनु पर्ने भएकोले उनीहरुले साधारणसभा अगाडि नै सकेसम्म निर्विरोध निर्वाचित हुने वातावरण तयार पार्न आपसी भेटघाट, छलफल र परामर्शमा विशेष जोड दिइरहेका छन् ।
आगामी साधारणसभामा अध्यक्ष पदका लागि आकांक्षा राखेका प्रदिप मुरारका संगठनको ४८ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित भएका थिए । अध्यक्षसहित, उपाध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष पदका लागि भने प्रत्यक्ष निर्वाचन गरिएको थियो । उद्योग संगठनको इतिहासमा पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मुरारकाले ७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी राकेश सुरानाले ७५ मत प्राप्त गरेका थिए । आगामी ५० औं साधारणसभामा पनि यीनै दुई बीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अहिले मुरारका र सुराना दुवै उपाध्यक्ष नन्दकिशोर राठीको समर्थन जुटाउने कसरतमा लागेका छन् ।
वरिष्ठ उपाध्यक्ष मुरारका सामाजिक सम्बन्ध र संगठनात्मक उत्तरदायित्व वहनका हिसाबले अन्य आकांक्षीहरु राठी र सुरानाको तुलनामा कमजोर देखिन्छन् । संगठनले दिएको जिम्मेवारी पूरा गर्ने, सामाजिक गतिविधिहरुमा सक्रिय हुने, उद्योग र व्यवसायिक हितका लागि सरकारसँग समन्वय, सहकार्य र संघर्ष गर्ने जस्ता गतिविधिमा राठी र सुरानाहरुले नै बढी प्रभावकारी भूमिका विगतमा निर्वाह गरेका कारण आगामी नेतृत्वमा उनीहरु बढी प्रभावी हुनसक्ने उद्योगीहरुको अनुमान छ । तर, तीनै जनाले आगामी नेतृत्वका लागि तीब्र आकांक्षासहित तयारी अगाडि बढाइरहेकोले अन्तिममा कुनै एक जना पछाडि हटेपनि दुई जना पछि सर्ने सम्भावना छैन । त्यसैले यस पटक उद्योग संगठन मोरङको अध्यक्ष पद सर्वसम्मतबाट टुंगिने सम्भावना न्यून छ । इतिहासमा उद्योग संगठनको अध्यक्ष ५० औं साधारणसभाबाट निर्वाचित हुने अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै छानिने सम्भावना बलियो देखिएको छ ।
अध्यक्ष पदमा प्रतिस्पर्धाको तयारी गरिरहेका तीन जना आकांक्षीमध्ये राकेश सुराना संगठनको जिम्मेवारी (बोर्ड)मा प्रवेश गरेका सबैभन्दा पुराना व्यक्ति हुन् । पहिलो पटक २०५४ सालमा उद्योग संगठनले आयोजना गरेको कोशी महोत्सव सञ्चालन गर्ने भूमिका पाएका उनी त्यसपछि संगठनमा आवद्ध हुँदै किशोर प्रधानको नेतृत्वकाल (२०६१ साल) यता निरन्तर बोर्डमा रहेर संगठनको भूमिका निर्वाह गर्दै आएका छन् । केही वर्षअघिसम्म मुलुकमा ब्याप्त विद्युत संकटका कारण उद्योगहरु धराशायी हुँदा सुरानाले संगठनको उर्जा समितिमा बसेर उद्योगको उर्जा समस्यामा सहजीकरण गर्न र संघर्ष गरेर सरकारको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै उद्योगी राठी पनि केही वर्ष अघिदेखि उद्योग संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहेर निरन्तर उद्योगीहरुको हितमा काम गर्दै आएका व्यक्ति हुन् । उद्योगी प्रदिप मुरारका ८ वर्ष अघि दिनेश गोल्छा अध्यक्ष भएको बेलादेखि संगठनको बोर्डमा छन् । सामाजिक सम्बन्धका दृष्टिले राठीप्रति पनि उद्योगी व्यवसायीहरु सकारात्मक छन् । सरकार, उद्योगी, व्यवसायी, र अन्य सामाजिक अवयवहरुसँग सन्तुलित र सहयोगी भूमिका निर्वाह गर्ने गरेका कारण उनी आगामी नेतृत्वका लागि प्रभावकारी उम्मेदवार बन्न सक्ने अनुमान उद्योगीहरुले गरेका छन् ।
वर्तमान नेतृत्वको समीक्षा र आगामी नेतृत्वको चुनौती
उद्योग संगठन मोरङको नेतृत्व गरिरहेका उद्योगी सुयश प्याकुरेल वर्तमान बोर्डका पुराना मध्येका एक हुन् । युवा, अध्ययनशील र नयाँ सोचसहित नेतृत्वमा उदाएका प्याकुरेलले आफ्नो दुई वर्षे कार्यकालमा केही महत्वपूर्ण कामहरु गरेका छन् । उनले यस अवधिमा अगाडि बढाएका कामहरुले उद्योग संगठनलाई नयाँ ढंगले बढ्न मार्गदर्शन गरेको छ भने आगामी नेतृत्वलाई त्यसलाई अझ प्रभावकारी बनाउँदै अघि बढाउने चुनौती छ ।
उद्योग संगठनको नेतृत्व लिए लगतै प्याकुरेलले दुई वर्षे रणनीतिक योजना तर्जुमा गरेर कामलाई व्यवस्थित ढंगले अगाडि बढाए । जसले गर्दा उद्योग संगठन मोरङलाई कहिले के काम गर्ने भन्ने विषयको समस्या भएन । उनको नेतृत्वले अमुक उद्योग, उद्योगी वा केवल समूहको मात्र हित भन्दा पनि सबैको हित हुने गरी उनले आफ्नो अवधिमा काम गर्ने प्रयत्न गरेको देखिन्छ ।
उनको नेतृत्वमा रहेको उद्योग संगठनले परम्परागत शैलीमा थोरै परिवर्तन गरी तथ्यांकहरु तयार गर्ने, समस्याहरु पहिचान गरी सूचिकृत गर्ने, बौद्धिक छलफल र अन्तरक्रियाहरु गरेर समाधानका उपायहरुको खोजी गर्ने, नयाँ उद्यमीहरुलाई सहयोग, समन्वय र सहकार्य गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, उद्योगका समस्याहरु समाधान गर्न अन्य संघ संगठनहरुसँग मिलेर अघि बढ्ने, संघर्ष गर्ने तथा उद्योगको हितमा केही नयाँ अभ्यासहरुलाई अगाडि बढाउने जमर्को गरेको थियो । अब आउने नेतृत्वले त्यसलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने चुनौती छ ।
यस अवधिमा उद्योग संगठन मोरङले औद्योगिक सर्वेक्षण प्रकाशन गरेर उद्योगहरुको यथार्थ चित्रण सार्वजनिक गरेको अध्यक्ष प्याकुरेलले जानकारी दिए । तथ्यांकको अभावमा उद्योगहरुको यथार्थ अवस्था सार्वजनिक नहुँदा नीति निर्माण गर्ने तहमा सल्लाह सुझाव दिँदा र आफूले कामको प्राथमिकता निर्धारण गर्दा पनि भोग्दै आएको समस्या समाधान गर्न मद्दत पुगेको उनको अनुभव छ । यसैगरी संगठनले यो कार्यकालमा बिजनेश क्लिनिक सञ्चालन गरेर उद्योगका समस्याहरु पहिचान गर्ने र समाधानको उपाय खोजी गर्ने कामलाई निरन्तरता दियो । हरेक शुक्रबार उद्योगहरुमा पुगेर समस्या बुझ्ने, सूचना संकलन गर्ने गर्दा सूचनाका हिसाबले संगठन समृद्ध बनेको उनको अनुभव छ । प्याकुरेलको आफ्नो कार्यकालमा ७३ वटा उद्योगको भिजिट भएको सचिवालयले जानकारी दिएको छ । यस्तै उनले इकोनोमिक समिटको प्रचलन आरम्भ गरी निरन्तरता दिने प्रयत्न पनि गरेका छन् । उद्योगहरुलाई आवश्यक पर्ने जनशक्ति आफैं उत्पादन गर्न सीटीईभीटीसँग सहकार्य गरेर उद्योगहरुमा काम गर्दै पढ्दै कार्यक्रम अगाडि बढाएका छन् ।
स्टार्ट अप एण्ड इन्नोभेसन कार्यक्रममार्फत् नयाँ व्यक्तिहरुमा उद्यमशीलता विकास गर्ने र सहजीकरण गर्ने काम पनि यसै अवधिमा प्रभावकारी ढंगबाट सुुरु गरिएको छ । यस अवधिमा ३४ जना व्यक्तिलाई यो प्रक्रियामा सामेल गराएर अगाडि बढाउने चेष्टा पनि गरेको देखिन्छ । उनको नेतृत्वमा मेरो देश मेरो उत्पादन भन्ने अभियान सञ्चालन गरेर स्वदेशी उत्पादन र बजार प्रबद्र्धनमा विशेष जोड दिएका छन् । यसले देशलाई अब उत्पादन तर्फ अगाडि बढाउँदै परनिर्भरताबाट जोगाउनु पर्ने सन्देश पनि दिएको छ ।
उद्योग संगठनको ५० औं साधारणसभाबाट नयाँ नेतृत्वमा आउन खोजिरहेका उम्मेदवारहरुले कमसेकम पनि लामो समयपछि वर्तमान नेतृत्वले अगाडि बढाएको कार्यक्रमहरुलाई उद्देशय अनुरुप अझ प्रभावकारी बनाउँदै सञ्चालन गर्ने र थप महत्वपूर्ण योजनाहरु अगाडि ल्याउने चुनौतीको सामना गर्न तयार हुनुपर्ने उद्योगीहरु बताउँछन् ।

