चाइना फाउन्डेसनद्वारा मोरङका तीन विद्यालयमा शैक्षिक सामग्री सहयोग

विराटनगर । चाइना फाउन्डेसन फर पोर्भटी एलिभिएसनको आर्थिक सहयोगमा मोरङका विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकाका तीन विद्यालयलाई फाउन्डेसनसको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ को लामाटोलीस्थित दुर्गा मावि, वडा नम्बर २ स्थित सरस्वती आधारभुत विद्यालय र विश्वनाथ संस्कृत विद्यालयका विद्यार्थीलाई ती सामग्री प्रदान गरिएको छ ।

फाउन्डेसनले विद्यार्थीका लागि पुस्तक बोक्ने ब्याग, स्टेशनरी र हाइजिन सम्बन्धी सामग्री सहयोग गरिएको हो । त्यस अवसरमा बोल्दै पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापोले मित्रराष्ट्र चीनको सहयोगी संस्थाबाट प्राप्त सहयोग विद्यार्थीका लागि उपयोगी हुने बताए । “मित्र राष्ट्र चीनले हाम्रो देश विकासका लागि विभिन्न ढंगले सहयोग गर्दै आएको छ । शैक्षिक क्षेत्रलाई समेत मध्यनजर गरेर भएको सहयोग सह्रानीय छ,” तुम्बापोले भने,“शैक्षिक क्षेत्रमा अझ ठूला सहयोगहरुको हामी अपेक्षा गर्दछौं ।”

त्यस अवसरमा फाउन्डेसनका नेपालस्थित प्रतिनिधि डा. उपेन्द्र बरालले मोरङको पथरीशनिश्चरेका तीन विद्यालयलाई छनोट गरी शैक्षिक सामग्री सहयोग भएको बताए । उनले भने,“फाउन्डेसनले नेपाली जनताका लागि विविध क्षेत्रमा सहयोग गरिरहेको छ । सानासाना बालबालिकालाई यो सहयोग सकारात्मक हुने हाम्रो अपेक्षा छ ।” त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, शिक्षक तथा अभिभावकको बाक्लो उपस्थिति थियो । शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थीहरु खुसी देखिएका थिए ।

सन् १९८९ मा स्थापना भएको चाइना फाउन्डेशन फर पोभर्टी एलिभिएसन एक राष्ट्रव्यापी गैरसरकारी परोपकारी संस्था हो । नेपालमा सन् २०१५ मा फाउन्डेसन समाज कल्याण परिषद्मा दर्ता भई काम गरिरहेको छ । यसले शिक्षा, स्वास्थ्य, सामुदायिक खानेपानी, जीविकोपार्जन, सीप विकास र विपद् तथा राहत जस्ता क्षेत्रमा काम गर्दै आएको छ ।

बिहिबार, १६ चैत, २०७९, साँझको ०५:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर