काठमाडौं । नेपाली गजल गायनको इतिहासमा पहिलो पटक आठ गजलकारहरुद्वारा लिखित गजल ‘तिमिलाई हेर्दा हेर्दै’ सार्वजनिक भएको छ ।
आफ्नो कार्यको शिलशिलामा देश बाहिर रहेर पनि नेपाली साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको अन्तराष्ट्रिय संस्था गलज यात्राले सो गजल आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।
‘तिमिलाई हेर्दा हेर्दै’ गजलमा गजलकार आनन्द श्रेष्ठको मतलामा रहेर अन्य गलजकारहरु पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवद्र्धन पूजा, डिल्ली चम्लागाइँ, बाषुपुष्पा अधिकारी र शतिष त्रिपाठीले शब्द निर्माण गरेका छन् ।
उक्त गजलमा अमेरिका रहेर नेपाली गीत संगीतको क्षेत्रमा कार्य गर्दै आई रहेका गायक तथा संगीतकार केशव पौडेलको स्वर र संगीत रहेको छ भने जुगल डंगोलले एरेन्ज गरेका छ्न् ।
‘हामी सधैं नयॉं केही गरौं भनेर लागिरहेका हुन्छौं, त्यहि क्रममा यो काम गरिएको हो,’ गजलयात्राका संस्थापक संयोजक गजलकार पवन लामिछानेले भने, ‘कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरु यौटा शेर लेख्दै बॉंकी शेर थपेर गजल पुरा गरौं भनेर फ़ेसबुक समुहमा पालैपालो राख्थ्यौं र यौटा गजल पुरा गर्थ्यौं । त्यहि बिचमा १–१ शेर गजल वाचन गरिएको भिडियो हरु बनाएर अपलोड गर्यौं । पछि सबैको सल्लाहमा एउटा सांगीतिक गजल नै तयार गर्ने योजना बन्यो । मलाई लाग्छ नेपाली गजल गायनको इतिहासमा यो बिल्कुलै नयाँ प्रयोग हो। गजलको क्षेत्रमा भैरहेको गुटबन्दि र आरोप पत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेका छौं ।’
आठ गजलकारहरुको साथमा एकै पटक काम गर्न पाउँदा उत्साहित रहेको गायक एवं संगीतकार केशव पौडेलले बताए । सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजक समेत रहेका गजलकार लामिछानेले तयार गरेका हुन् ।