विराटनगर । विराटनगरमा रहेको एभरेस्ट एजुकेसन फाउन्डेसनले पहिलो पटक ‘एभरेस्ट कार्निभल’ को आयोजना गर्ने भएको छ ।
एभरेस्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेस्ट कार्निभल’ गर्ने भएको हो । एभरेस्ट एजुकेसन फाउन्डेसनले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी एभरेस्ट कानर्भलको तयारी तीव्र रूपमा भएको जानकारी गराएको छ ।
यस कार्निभलको दौरान दुई दिन अभिभावक दिवस समेत मनाइने एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । उनका अनुसार पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्ययतामा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र तिनका अभिभावकका बिच दिवस मनाइने छ । यस कार्यक्रममा तिनै कक्षाका विद्यार्थीले आ–आफ्ना कला समेत प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो दिनका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्ययतामा अभिभावक दिवस सम्पन्न गरिनेछ ।
यसैगरी कार्निभलको आकर्षणका रूपमा एकै पटक एक सय जनाले अवलोकन गर्न मिल्ने प्लानेटेरियम राखिनेछ । विद्यार्थीहरूद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणित तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरू प्रदर्शनीमा राखिनेछ । कलेज परिसरमा १८ वटा स्टलहरू राखिने प्रिन्सिपल पुरीले बताए । ती स्टलहरूमा विभिन्न अन्वेषणात्मक परियोजनाहरूको प्रदर्शनी, कला प्रदर्शनी, मिनी म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीहरूद्वारा सञ्चालित खानाका स्टलहरू, फेस पेन्टिङ स्टल, एभरेस्ट एचिभमेन्ट ग्यालरीका साथै नोबेल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत रहने भएको छ ।
कार्निभल हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।कार्निभलको दौरानमा विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुनेछन् । तीन दिवसीय कार्यक्रमको अन्तिम दिन माघ २९ गते विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुति सँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । गायक कालीप्रसाद बाँस्कोटा, गायिका अस्मिता अधिकारी र अन्जु गौतमको साङ्गीतिक कन्र्सटको समेत आयोजना रहनेछ । ‘हरेक क्षेत्रमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा गरिने यस्ता गतिविधिले उनीहरूमा अन्तर निहित क्षमताको प्रस्फुटन गर्न सघाउ पुग्ने निश्चित रहेको छ,’ प्रिन्सिपल पुरीले भने, ‘विद्यार्थीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक उन्नयन गर्दै व्यक्तिmत्व विकास, चारित्रिक निर्माण तथा नेतृत्व कौशललाई मजबुत बनाउन यो कार्निभल महत्त्वपूर्ण कोसे ढुङ्गा साबित हुने हामीले विश्वास लिएका छौँ ।’
यस कार्निभलमा विद्यार्थी, अभिभावक तथा विराटनगरका बुद्धिजीवी र आम जनसमुदाय गरी करिब २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एभरेस्ट एजुकेसन फाउन्डेसनले विशेष महत्त्वका साथ आयोजना गर्न लागिरहेको यस कार्निभल भव्य र सभ्य तरिकाले गर्ने उनले बताए ।