खोटाङ । खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो ।
वि.सं. २०७८ भदौ १२ गते उक्त विद्यालयका एकमात्र शिक्षकको सरुवा भएपछि विद्यालयको पूरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो ।
कक्षा एकदेखि तीनसम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । तीन वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहेका छन् ।
विद्यालयमा अन्य शिक्षक नभएपछि बिरामी हुँदासमेत विद्यालय जानुपर्ने बाध्यता रहेको उनले बताए । ‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले बिरामी हुँदा पनि जानु पर्ने बाध्यता छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्यार्थीलाई पढाउने गरेको छु,’ कार्यालय सहयोगी मगरले भने । वि.सं. २०६३ सालमा स्थानीयले देउसी भैलो खेलेर स्थापना गरेको विद्यालयको भवनसमेत जीर्ण रहेको छ ।
विद्यालय भवनको दायाँ–बायाँको पर्खाल भत्किन लागेको छ भने जस्तापातासमेत उक्किएको छ । झ्याल ढोकासमेत नभएको भवनको निदाल र सरा धमिरा लागेर मक्किएको छ । विद्यालयमा विद्यार्थीहरूका लागि डेस्क, बेन्चकोसमेत अभाव हुँदा विद्यार्थीहरूलाई १०–४ को समय बिताउन कठिन भइरहेको मगरले बताए । विद्यालयको भवन जीर्ण भएकाले विद्यार्थीलाई भित्र राख्न डर हुने गरेको छ । त्यसैले बाहिर राखेर पठन–पाठन गराउने गरेको उनको भनाइ छ । २०७२ सालको भूकम्पले जीर्ण बनाएको भवन निर्माणका लागि धेरै पटक सरकारी निकायसँग माग राख्दा अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए ।
साविक राजापानी गाविसको वडा नम्बर १ थुम्कीमा पर्ने उक्त विद्यालयमा चाँडै शिक्षकको व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ । नजिकै रहेको महंकला आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज रेग्मीले उक्त विद्यालयको पनि प्रशासनिक कार्य भने हेर्दै आएका छन् । करारमा शिक्षक राख्न विज्ञापन गर्न नगरपालिकाले अनुरोध गर्दा अभिभावक नमानेपछि स्थायी शिक्षकको अभाव भएकाले विद्यालयमा समस्या देखिएको नगर शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताए । अब आउने स्थायी शिक्षकलाई उक्त विद्यालयमा पठाउने नगर कार्यपालिकाले निर्णयसमेत गरेको कार्कीले बताए ।
विद्यालयको अनुगमन गर्दा धेरै बिजोग देखिएकाले यस वर्ष भित्रमा जसरी पनि नयाँ भवन निर्माण गर्ने नगरपालिकाका उपप्रमुख रमेश कुमार राउतले बताए ।
कार्यालय सहयोगी भनेर तल्लो स्तरमा राखेर तल्लोस्तरको गाली ब्यवहार गर्नेको बिरूद्द यो लेख गतिलो झापड बनेको छ तर यो स्कुल मा शिक्षक प्र अ हुनु जरूरी छ