विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले तोरीको गुन्द्रुक उत्पादनलाई पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाइरहेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गरिएको यो कार्यक्रम लागू भएसँगै पालिकामा कति गुन्द्रुक उत्पादन भयो ? किसानलाई गाउँपालिकाले कसरी सहयोग गरिरहेको छ भन्ने कुरा चासोको विषय हो ।
गाउँपालिकामा अत्याधिक मात्रामा तोरी खेती हुने गरेको छ । यही कुरालाई लक्षित गर्दै उसले गुन्द्रुकमा पालिका आत्मनिर्भर बनाउने मात्रै होइन पालिका बाहिर पनि निर्यात गर्ने लक्ष्य लिएको छ । ‘तोरी खेतीमैत्री गाउँपालिका क्षेत्रभित्रको जमिनलाई अधिकतम तवरले सदुपयोगमा ल्याइनेछ । पुस्तौं पुस्तादेखि घरघरमै गुन्द्रुक उत्पादन हुँदै आइरहेकोमा त्यस्तो सीप र कलालाई व्यवसायीक उत्पादनमा जोडिनेछ,’ पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ, ‘गुन्द्रुक उत्पादनलाई अन्तरपुस्ता सीप हस्तान्तरणमा समावेश गरी लघु उद्यमको रुपमा विकास र विस्तार गरिनेछ । यसका लागि बेमौसममा समेत करेसाबारीमा तोरी खेती गरी गुन्द्रुक उत्पादन गर्न पहिलो प्राथमिकतामा वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारका सदस्यलाई समूहमा आबद्ध गरी ‘आमाको सीप सन्तानलाई, अर्गानिक गुन्द्रुक मोरङलाई’ नामक कार्यक्रम संचालनमा ल्याइनेछ ।
पालिकाले यही नाराका साथमा संचालन गरेको कार्यक्रमका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट पनि छुट्याएको छ । तर, गुन्द्रुक उत्पादन कति भयो ? यो विषयमा अझै पालिकामा तथ्यांक संकलन भइसकेको छैन ।
पालिकामा व्यक्तिगत पनि र समूहगत ढंगले पनि तोरी खेती गरिएको छ । पालिकाको ७ वटै वडामा यसअघि ४० विगाहामा तोरी लगाउँछु र गुन्द्रुक उत्पादन गर्छु भन्ने प्रतिबद्धता सहितको निवेदन आएको थियो । यद्यपि १ सय ७६ कठ्ठा (८ विगाहा ८ कठ्ठा)जग्गामा मात्रै गुन्द्रुक उत्पादनको प्रयोजनका लागि तोरी लगाइएको पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले बताए ।
उनका अनुसार यो कार्यक्रममा किसानको रेस्पोन्स राम्रो आएको छ । ‘अग्र्यानिक उत्पादन गर्ने भएको कारण गुन्द्रुक उत्पादन गर्न कठिन हुने कतिपय किसानले सुझाव पनि छ, कतिपयले राम्रो रेस्पोन्स गरेका छन्,’ बुढाथोकी भन्छन् । पालिकाले यो कार्यक्रम सफल हुने या नहुने भन्ने विषय पहिलो प्रयासलाई हेरेर थप परिमार्जन गर्ने पनि उनले बताए । ‘हामी पर्ख र हेरको अवस्थामा छौं,’ उनले भने ।
यो कार्यक्रममा सहभागी हुने किसानका लागि पालिकाले बिउ, मल, खनजोत गर्ने औजार, श्रमको ज्याला, पञ्जा तथा टोपी दिएको छ । पालिका आफैंले गुन्द्रुक खरिद गरिदिने पनि जनाएको छ । गुन्द्रुकको अहिलेको बजार भाउ ७ सयदेखि साढे ७ सयसम्म रहेको बुढाथोकी बताउँछन् ।
‘किसानले गुन्द्रुक उत्पादन गरुन् । त्यसको बजार छ भनेर प्रोत्साहन गर्न खोजेको हो । कम्तिमा दुई छिमल निकाल्न सक्दा नाफा पनि हुन्छ,’ बुढाथोकी बताउँछन्, ‘पालिकाको पाइलट प्रोजेक्ट जस्तो हो यो । कानेपोखरीलाई गुन्द्रुकको हब बनाउने एउटा कल्पना हो । यो आर्थिक वर्षको अवस्थालाई हेरेर हामी थप नीतिगत व्यवस्था गर्छौं ।’ केही मान्छेले भने पालिकाले गुन्द्रुक जस्तोमा लागेको छ भन्ने नकारात्मक टिप्पणी पनि गरेको उनी सुनाउँछन् ।
यता, सोही कार्यक्रम अन्तर्गत कानेपोखरी ६, नर्सरी टोलमा कृषि कार्यक्रम चलिरहेको छ । कानेपोखरी कृषक समूहले १० कठ्ठामा तोरी लगाएको छ । अहिले उक्त तोरीको गुन्द्रुक खाल्डोमा हालेर निकालिएको छ । ‘२ वटा खाडलमा गुन्द्रुक लगाइएको छ । जहाँबाट ५०–६० किलो उत्पादन हुने अपेक्षा छ,’ उक्त समूहका सदस्य नविन झोडाली बताउँछन् । यही आधारमा उत्पादन हुने हो भने यस पटक कानेपोखरी गाउँपालिकामा लगभग १ हजार किलो गुन्द्रुक तयार हुने अनुमान छ ।
गुन्द्रुकमा आत्मनिर्भर हुने गाउँपालिकाले लक्ष्य लिएको छ । त्यसो हुँदा उत्पादित गुन्द्रुक पालिकाले लिनेमा समूह ढुक्क छ । सोही समूहकी सदस्य श्यामकुमारी पाण्डे अधिकारीले जग्गाको भाडा तिरिदिने व्यवस्था गाउँपालिकाले गर्नुपर्ने माग गर्छिन् । उक्त समूहले काँक्रा खेती र कृषक पाठशाला पनि चलाइरहेको छ । कानेपोखरी १ होक्लाबारीकी रुद्रा खड्का बस्नेत भने गुन्द्रुकलाई ब्राण्ड बनाउने कोशीस गरिरहेको बताउँछिन् । उनले गुन्द्रुक मात्रै नभएर च्याउ खेति, मौरी पालन पनि गरिरहेकी छिन् ।
‘गुन्द्रुकका लागि जैविक मल लगाएका छौं । रासायनिक मल लगाएको साग टिप्दा धेरै देखिएपनि गुन्द्रुक बनाउँदा पानी बनेर धेरै जान्छ, यो भने जाँदैन,’ उनी सुनाउँछिन् । जैविक मलको रुपमा गोबर र पिना हाल्ने गरेको उनी सुनाउँछिन् । गुन्द्रुकको माग अत्याधिक रहेको उनी सुनाउँछिन् । ‘गुन्द्रुक छ बन्दैछ । अहिले पनि धेरै मानिसहरुले गुन्द्रुक बनिसक्यो भनेर फोन गर्ने गरेका छन्,’ उनी सुनाउँछिन्, ‘गुन्द्रुकको महत्व धेरै छ ।’
तोरी कात्तिकमा लगाउँदा ठिक्क समय हुन्छ । त्यसो भयो भने मंसिर १, २ गतेसम्ममा टिपेर खाल्डोमा हाल्दा ठिक्क हुन्छ । ‘यही तरिकाले रायो, काँक्रा, मुला लगायतका तरकारीजन्य वस्तुहरु उत्पादनमा पनि पालिकाले जोड दिए राम्रो हुन्थ्यो,’ उनी सुनाउँछिन् ।