आचार्यको आत्मदाह राज्यप्रतिको निराशा र आक्रोशको संकेत : मेयर कोइराला

आचार्यको आत्मदाह राज्यप्रतिको निराशा र आक्रोशको संकेत : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संघीय संसद भवनअगाडि इलामका युवा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै आचार्यको आत्मदाह घटनाले राज्यलाई सोच्न बाध्य बनाएको उल्लेख गरेका छन् । “आचार्यको आत्मदाह निराशा र आक्रोशको संकेत हो । यो संकेतलाई बुझेर तीनै तहको सरकारले बेलैमा सम्बोधन गरेनौं भने यस्ता घटना अझै बढेर जाने देखिन्छ,” मेयर कोइरालाले भनेका छन्, “जनताको भावनालाई बुझेर हामी जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन, निजी क्षेत्र सबै आफ्नो दायित्व र जिम्मेवारी बुझेर इमान्दारिताका साथ अगाडि बढौं भन्ने आग्रह गर्दछु ।”

तीनै तहको सरकारले जनतालाई बिना झन्झट र अवरोध सेवा प्रवाह गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिएका छन् । ऐन कानुन निर्माणदेखि सेवा प्रवाह र जनतालाई कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रमुख दायित्व संघीय सरकारको भएको उनको भनाइ छ । सीमित स्रोत र साधनको बाबजुद पनि स्थानीय सरकार आफ्नो दायित्व पूरा गर्न सदैव लागिपरिहेको उल्लेख गर्दै उनले विराटनगर महानगरपालिकाले पनि सुशासन, पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

“सीमित स्रोत र साधनको उपयोग गर्दै युवाहलाई स्वरोजगारमूलक तालिम सञ्चालन गरेर आत्मनिर्भर बनाउने सवालमा महानगर गम्भीर रहेको छ,” उनले भनेका छन्, “देश र समाजलाई नै लज्जित बनाउने गरी संसद भवन अगाडि देशभित्रै बसेर केही गरौं भनेर अगाडि बढिरहेको युवाले आगो लगाएर आत्महत्या गर्नु अत्यन्तै दुखदायी घटना हो । यो घटना शब्दमा वर्णन गरेर नसकिने हो भन्ने मलाई लाग्दछ ।” शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्