विराटनगर । बिरामी भएर उपचार गराउन अस्पतालमा जाँदा मतदाता परिचयपत्र बोक्नुपर्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन । मोरङको विराटनगरमा रहेको एक अस्पतालले एक निर्वाचन क्षेत्रका बिरामीलाई ५० प्रतिशत छुट दिने गरेको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका मतदातालाई उपचारमा ५० प्रतिशत छुट दिने गरेको हो ।
मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । चुनाव जित्नका लागि मतदाता खुशी बनाउन उनले यस्तो रणनीति अपनाएको चर्चा चल्ने गरेको छ ।
मतदाता परिचयपत्र छुटे पनि निर्वाचन आयोगको वेबसाइडमा नाम हेरेर यकिन गरी छुट सुविधा दिने गरिएको छ । निर्वाचनको मिति घोषणा भएपछि नोबेलले ३ नम्बर क्षेत्रका सबै मतदातालाई छुट दिन थालेको हो ।
चुनाव घोषणा हुनुअघि अस्पतालमा छुट पाउनका लागि नेपाली कांग्रेसका वडा सभापति तथा उनका केही विश्वास पात्र नेताहरूले सिफारिस गर्नुपर्थ्यो । अहिले भने नामावलीको कार्ड लिएर अस्पताल प्रशासनमा जाँदा सबैलाई छुट दिने गरिएको छ ।
अस्पताल प्रशासनले भने चुनावका लागि नभई अघिल्लो चुनावभन्दा अगाडिदेखि नै छुट दिन थालिएको बताएको छ । ६० वर्षभन्दा कम उमेरकालाई ५० प्रतिशत र सोभन्दा माथिकालाई १०० प्रतिशत नै छुट दिने गरेको नोबेल टिचिङ अस्पतालका जनसम्पर्क सल्लाकार नारान सुवेदीले बताए ।
उनले नेताहरुरुको सिफारिसमा भने यसअघि पनि छुट दिदै आएका थिए । उनले निर्वाचन क्षेत्रका सबै वडामा स्वास्थय शिविर समेत संचालन गर्ने गरेका थिए । शर्माले अस्पतालको कार्यकारी भूमिकामा बुवालाई राखेका छन् । अस्पतालको अध्यक्ष शर्माका बुवा लोकनाथ हुन।
शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनका प्रतिस्पर्धी पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल छन् । अघिल्लो निर्वाचनमा ढकालले जितेका थिए । अघिल्लो पटक ढकाल वाम गठबन्धनका साझा उम्मेदवार थिए भने यसपटक उनी जसपासँगको गठबन्धनमा छन् । मोरङमा राप्रपासँग गठबन्धन छैन ।
मोरङको ३ नम्बर क्षेत्रमा ४ पालिकाका २६ वडा छन् । सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वडा मोरङको ३ नम्बर क्षेत्रमा पर्छन् ।
सुन्दरहरैचाका ६, बेलबारीका ८, कानेपोखरीका ४ र पथरी शनिश्चरेका ८ वडा मोरङ–३ मा पर्छन् । यस क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता छन् ।