मोरङ ट्राफिकको ‘लापसे जाँच’ अभियान

विराटनगर । लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने एक चालक विराटनगरबाट पक्राउ परेका छन् ।

को १ ज १४८१ नम्बरको म्याजिक भ्यानमा यात्रु लिएर विराटनगरबाट सुनसरीको इनरुवातिर जाने तयारी गर्दैगर्दा इटहरी उपमहानगरपालिका–१३ घर भएका ३८ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठलाई विराटनगर–११ स्थित बसपार्कबाट बुधबार बिहान पक्राउ गरेको हो । प्रहरीका अनुसार ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण गर्दा उनले लागुऔषध डाइलेक्स डीसी र गाँजा सेवन गरेको पुष्टि भएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले श्रेष्ठलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ परेका चालकविरुद्ध लागुऔषध सेवन सम्बन्धी मुद्दा चलाइने जानकारी दिए ।

लागुऔषध सेवन गरेर चलाइएको मे १ ख ३०८९ नम्बरको बसका चालक सुनसरीको इटहरी घर भएका २३ वर्षीय शौरभ लाखेलाई मंगलबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।

चालकले लागुऔषध सेवन गरे नगरेको पत्ता लगाउन सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर विराटनगरमा मंगलबारदेखि ट्राफिक प्रहरीले लापसे (लागुपदार्थ सेवन) सम्बन्धी जाँच सुरु गरेको जनाएको छ ।

सार्वजनिक सवारी साधनका कर्मचारी चालक, सहचालक र परिचालकलाई लक्षित गरेर परीक्षण सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए । लागूऔषध सेवन गरेर सार्वजनिक सवारीसाधन चलाउने गरिएको गुनासोसँगै त्यसको लतबाट चालकलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले प्रदेश १ मै पहिलोपटक नयाँ र विशेष अभियान सुरु गरेको हो ।

अशोज १३, २०७९, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर