लोड हुँदैछ...

मेनु

मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबारमा कडाइ

मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबारमा कडाइ

इटहरी ।सुनसरीको इटहरी उपमहानगरपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
भदौ २२ गते बुधबार बसेकोे १२२ औँ नगर कार्यपालिकाको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थ (खैनी, चुरोट, गुट्खा, भोला, रजनीगन्धा) को कारण सामाजिक समस्या सृजना गरेको भन्दै सार्वजनिक स्थानमा विक्री गर्न नदिने निर्णय गरेको हो ।

विभिन्न २६ वटा निर्णय भएको बैठकको निर्णय नं. १४ मा इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था, बसपार्क जस्ता सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य पदार्थहरू बिक्री वितरण गर्न रोक लगाउने उल्लेख छ । बैठकले उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने योजनाहरूमा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तर परीक्षणका लागि प्राविधिक प्रयोगशाला निर्माण गर्ने निर्णय पनि गरेको छ ।
यसैगरि खाद्यवस्तुको गुणस्तरको जाँचका लागि खाद्य प्रयोगशाला सम्बन्धी कार्यविधि निर्माण गरी खाद्य गुणस्तरीयता मापन गरिने भएको छ । बैठकले वडा कार्यालयमा अमिन प्राविधिकको अभाव देखिएकोले १० जना अमिन प्राविधिक (सहायक स्तर चौथो तह) को पदमा करार ऐन अनुसार करारमा नियुक्ति गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको सेवालाई प्रभावकारी बनाउनका लागि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गर्ने निर्णयसमेत गरेको छ । बैठकले इटहरी बसपार्कको नगर विकास कोष सँग ऋण सहायतामा स्तरोन्नति गर्ने, नगर प्रहरी सञ्चालन र व्यवस्थापनका लागि नगर प्रहरी ऐनको मस्यौदा पेस गर्नका निम्ति कानुन मस्यौदा समितिलाई अनुरोध गर्ने, नगर सहकारी समिति गठन गर्ने र नगर कार्यपालिकाको नियमित बैठक प्रत्येक महिनाको अन्तिम हप्ताको शुक्रवार दिनको १ः०० बजे बैठकलगायतका निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।