भारतीय रेल्वे प्रबन्धकलाई व्यापार संघको सुझाव

भारतीय रेल्वे प्रबन्धकलाई व्यापार संघको सुझाव

विराटनगर । जोगवनी रेल्वेको मालवस्तु थन्क्याउने स्थल कम्तिमा १६ घण्टा सञ्चालनमा ल्याउन मोरङ व्यापार संघले भारतीय रेल्वे प्रबन्धकसँग आग्रह गरेको छ । मंगलबार संघको प्रतिनिधिमण्डलले भारतीय रेल्वे प्रबन्धक एस.के.चौधरीसाग भेटगरी रेल्वे क्षेत्रमा रहेका थुप्रै समस्याहरु समाधान गर्न समेत आग्रह गरेको थियो ।

संघले जोगबनी रेल्वे स्टेशनको गुड्स यार्डको जिर्णोद्वार गरिनु पर्ने, रेल्वे गुड्स यार्डको कार्य समय विहान ६ बजेदेखि बेलुकी १० बजेसम्म कायम गरिनु पर्ने, कोलकाता बन्दरगाहदेखि जोगबनी रेल्वे स्टेशन र पछि आई.सी.पी., जोगबनीसम्मका लागि कन्टेनराईज्ड कार्गोलाई नियमित रुपमा संचालन गर्न आग्रह गरेको थियो । यस्तै जोगबनीदेखि दक्षिण भारतका बैंगलोर, पश्चिम भारतका मुम्बई÷पुणे लगायतका स्थानहरुसम्मका सीधा रेल्वे सेवा संचालन गरिनु पर्ने, दिल्लीसम्मका लागि थप रेल संचालन गर्न सुझाव दिएको छ ।

भारतीय रेलमा नेपाली ज्येष्ठ नागरिकहरुलाई भारतीय ज्येष्ठ नागरिक सरह व्यवहार गर्न, भि.आई.पी सिट झैं आपतकालीन सिटहरुको व्यवस्था मिलाउन, अन्तर्राष्ट्रिय उडान मार्फत् भारत आउने नेपालीहरुलाई तत्कालै रेल्वे टिकट उपलब्ध गराउने व्यवस्था गर्न र सहजीकरणका अन्य कार्यमा साझेदारी गर्न संघले आग्रह गरेको जनाएको छ।

अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको टोलीले संघ भारतस्थित पटनाका कमिश्नरद्वारा गठित भन्सार जाँचपास सहजीकरण समिति(सि.सि.एफ.सी.)को सदस्य भएकोसमेत स्मरण गराएको थियो । त्यस क्रममा उनले भारत र नेपालबीच सहज आवागमनका लागि संघले निरन्तर सहजीकरण गर्दै आएको भन्दै कटिहार–जोगबनी ब्रोड गेज रेल्वे रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको स्मरण गराएका थिए । उनले जोगबनी–विराटनगर सीमा क्षेत्रका नागरिक र व्यवसायिक समुदायलाई लक्षित गरी भारतीय रेल्वेलाई थप सुविधायुक्त बनाउन आग्रह गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्