विराटनगर । विकास साझेदार एशीयाली विकास बैंक (एडीवी)ले विराटनगर महानगरपालिकामा सञ्चालन गरेका परियोजनाको बारेमा समीक्षा भएको छ ।
विगतमा विराटनगरमा एडीवीले सञ्चालन गरेका परियोजनाको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गर्न सक्ने सम्भावित आयोजनाहरुको विषयमा छलफल भएको महानगरले जनाएको छ ।
‘विगतमा सञ्चालित परियोजनाको समीक्षा र आगामी परियोजनाका विषयमा एडीवीको टोलीसित छलफल भएको छ,’ क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी)का परियोजना व्यवस्थापक इन्जिनियर भरत न्यौपानेले भने ‘हालसम्मका प्रगतिका बारेमा हामीले जानकारी गराएका छौं भने आगामी दिनमा फोहोर, सहरी सडक आदि क्षेत्रमा के गर्न सकिन्छ भन्ने बारेमा विमर्श भएको छ ।’
एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँग भेट गरेका थिए । भेटमा एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङ आदि योजनाका बारेमा चर्चा भएको थियो । मेयर कोइरालाले तत्कालका लागि फोहोर व्यवस्थापन, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला र सडक निर्माण आवश्यक रहेको बताए ।
निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरको विकासमा सहयोग गर्न एडीवीलाई आग्रह गरेका थिए ।
सोही आग्रहअनुसार एडीबीले विभिन्न परियोजनाको डीपीआर बनाउन सुरु गरेको नगरप्रमुखका प्रेस संयोजक मिनकुमार श्रेष्ठले जानकारी दिए ।
एडीवीले विराटनगरसहित पूर्वका इटहरी, दुहबी, धरान, इनरुवा र दमकमा १० वटा ठूला परियोजना सञ्चालन गर्दैछ ।
‘विराटनगरका लागि तत्काल गर्नुपर्ने भनेको सडक र नाला निर्माणका साथै फोहोर व्यवस्थापन नै हो,’ मेयर कोइरालाले भने, ‘त्यसका लागि एडीबीले काम सुरु गरिसकेको छ । हामीले डीपीआर छिटो बनाउनुहोस् भनेका छौं ।’
क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी) अन्तर्गत यसअघि विराटनगरको विकासमा नेपाल सरकारसँगको साझेदारीमा एडीवीले ६ अर्बभन्दा बढी लगानी गरिसकेको छ । एडीबीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो ।

