विराटनगर । आगामी मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेशको निर्वाचनका लागि पार्टीहरुले पहिलो चरणको उम्मेद्वार सिफारिस अन्तिम चरणमा पुगेको जनाएका छन् ।

प्रदेश १ मा संघीय संसदको २८ निर्वाचन क्षेत्र र प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेद्वार सिफारिस निर्वाचन समितिहरुबाट गरिएको हो । अधिकांश निर्वाचन समितिहरुले अत्याधिक नाम सिफारिस गरेका छन् भने थोरै स्थानमा भने एकल उम्मेद्वार पनि सिफारिस गरिएको ती पार्टीहरुले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले ८० प्रतिशत निर्वाचन क्षेत्रहरुको उम्मेद्वार सिफारिस निर्वाचन समितिले सकेको बताए । ‘अब २० प्रतिशत बाँकी होला, एक÷दुई दिनमा टुंगो लागिसक्छ,’ नेम्वाङले भने, ‘हाम्रोमा धेरैजसो संघीय सांसदका लागि सर्वसम्मत जस्तो भएको छ भने प्रदेशमा अलिक धेरै साथीहरुको नाम आएको छ ।’

यता, नेकपा एमालेका प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपानेले पनि पार्टीको निर्वाचन क्षेत्रीय समितिहरुबाट जिल्लामा सिफारिस गर्ने क्रम सकिएको बताए । ‘हाम्रो पार्टीले त जिल्लाको पनि सक्न लाग्यो,’ न्यौपानेले भने, ‘तल्लो क्षेत्रीय समितिहरुबाट सबै आइसक्यो, अब जिल्लाले प्रदेशमा पठाउँछ ।’ न्यौपानेका अनुसार एमालेको निर्वाचन क्षेत्र समितिले संघमा १२ जनालाई सर्वसम्मत सिफारिस गरेको छ । प्रदेशमा भने आकांक्षी अत्याधिक देखिएको एमालेले जनाएको छ ।

यता, नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले प्रदेशसभा निर्वाचन समिति, प्रतिनिधिसभा निर्वाचन समिति र जिल्ला समितिले उम्मेद्वारको नाम सिफारिस गरिसकेको बताए । अब प्रदेश समितिबाट सिफारिस गर्न बाँकी रहेको उनको भनाइ छ । ‘काँग्रेसले तल्लो समितिबाट उम्मेद्वार सिफारिस गरिसकेको छ,’ रायमाझीले भने, ‘प्रदेश समितिले उम्मेद्वारबारे थप छलफल गरेर केन्द्रमा पठाउँछ ।’