विराटनगर । सवारी जाम र दुर्घटना न्यूनीकरण गर्न आकासे पुल निर्माणको योजना अगाडि सारेको विराटनगर महानगरपालिका उक्त योजना स्थगित गरेर सडकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा लागेको छ ।
महानगरको क्षेत्रभित्र पर्ने कोशी राजमार्ग खण्डमा हुने दुर्घटना न्यूनीकरण गर्न र पैदल यात्रुको सहजताका लागि तीन वटा आकासे पुल निर्माणको चरणमा रहेकै बेला महानगरले ट्राफिक लाइट जडान गर्ने योजनाका बारेमा छलफल आरम्भ गरेको हो । तर यस योजनाको बारेमा महानगरमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।
महानगरका पूर्व मेयर भीम पराजुलीले आफ्नो प्रतिष्ठाको रुपमा अगाडि सारेको आकासे पुल निर्माणको योजना अघि बढ्न सकेको छैन । तीन वटा आकासे पुल निर्माण गर्न दुई वर्ष अघिनै ठेक्का सम्झौता भएपनि स्थानीयको अवरोधका कारण पुल निर्माण हुन नसकेको हो ।
दुई वटा आकासे पुल बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी कला बिल्डर्सका सञ्चालक सञ्जय यादवले नगरपालिकाले साइड क्लियर नगरेका कारण पुल निर्माण गर्न नसकेको बताएका छन् । दुई वटा आकासे पुल बनाउन कला बिल्डर्ससँग महानगरले २ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
महानगरबाट आकासे पुल बनाउने ठेक्का सम्झौता भएपछि कला बिल्डर्सले १ करोड २५ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरेर राखेको जनाएको छ । ‘ठेक्का सम्झौता पछि हामीले दुई वटा पुलका लागि चाहिने सम्पूर्ण फलामका सामग्रीहरु बनाएर तयारी अवस्थामा राख्यौं । त्यसमा कम्पनीले १ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । तर, साइड क्लियर नहुँदा अहिलेसम्म काम गर्न सकेका छैनौं ।’
कला बिल्डर्सले कलेज रोड पाञ्चाली मोड जोड्ने सडकमा आकासे पुल बनाउने तयारी गरेको थियो । त्यहाँ उसले चर उठाउन खनेको पनि थियो । तर त्यस बेलामा अवरोध भयो । त्यस बेला काँग्रेस नेता नागेश कोइरालाले आफ्नो जग्गा अगाडि पुल बनाउन खोजेको भन्दै असहमति जनाएका थिए । त्यसपछि आकासे पुलको काम अघि बढेन । संयोगले अहिले उनै व्यक्ति महानगरको मेयर बनेका छन् ।
पहिले विराटनगरमा आकासे पुलको आवश्यकता छैन भन्ने धारणा राखेका कारण अहिले मेयर कोइरालालाई त्यो योजना अगाडि बढाउन समस्या छ । त्यसैले उनी आकासे पुलको विकल्पको खोजीमा छन् । उनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइटलाई विकल्पको रुपमा अगाडि सारेका छन् ।
‘आकासे पुलको विषयमा अदालतमा मुद्दा परेको छ, महानगरले निर्णय पर्खिरहेको छ,’ नेता कोइरालाले भने ‘अब कतिदिन पर्खने भन्ने पनि छ र यसको विकल्प खोज्ने विषयमा पनि छलफल सुरु भएको छ ।’
आकासे पुल बनाउने योजना स्थगित गर्दा ठेक्का सम्झौतालाई के गर्ने गर्ने भन्ने विषयमा महानगरले उपाय खोजी गरिसकेको छैन । मेयर कोइरालाले भने ‘अहिले नै कुनै निर्णय भइसकेको छैन तर कसरी म्यानेज गर्ने भन्ने विषयमा उपाय खोज्दैछौं ।’
आकासे पुल बनाउनु भन्दा आधुनिक समयमा ट्राफिक लाइटको योजनामा जानु उपयुक्त हुने उनको धारणा छ । ‘मेरो सोच नै ट्राफिक लाइट जडान गरेर यहाँको ट्राफिक व्यवस्थापन गर्नुपर्छ भन्ने हो,’ उनले भने ‘तर पुलको ठेक्का लागिसकेको छ, अदालतमा मुद्दा परेको छ, यो अवस्थामा कहिलेसम्म पर्खिने र नपर्खिने हो भने पुलको ठेक्कालाई कसरी म्यानेज गर्ने भन्ने निर्णयमा पुग्नु पर्ने छ ।’ उनले ट्राफिक लाइट जडान तर्फ अगाडि बढ्ने वा पुल नै बनाउने भन्ने निर्णय एक महिनाभित्रै लिने जानकारी दिए ।
महानगरले विराटनगरको तीन ठाउँमा आकासे पुल निर्माण गर्ने योजना बनाएको थियो । प्रारम्भमा पाञ्चाली मोड, घाँस चोक र बरगाछी । पाञ्चाली मोड र बरगाछीमा पुल निर्माण गर्ने प्रयासमाथि अवरोध भएपछि बरगाछीको पुललाई कञ्चनबारी चोकमा सारियो । कञ्चनबारी चोकको सडक पूर्वतर्फ आकासे पुलको चर निर्माणको काम सम्पन्न भइसकेको छ । सडक पश्चिमतर्फ घरभएका जग्गावालाले पुल बनाउन रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरे । उक्त मुद्दा अदालतमा विचाराधीन छ । आरके बिल्डर्सका सञ्चालक रमेश कार्की मुद्दाका कारण काम गर्न नसकेको बताउँछन् । ‘मुद्दाले गर्दा आकासे पुलको काम अघि बढ्ने सम्भावना कम हुँदै गएको छ,’ सञ्चालक कार्कीले भने ‘महानगर पनि पुल बनाउने कामबाट पछाडि हट्ने खोजेको जस्तो सुनिदैछ अब के हुन्छ थाहा छैन ।’ उनले मुद्दा टुंगोमा पुगेको अवस्थामा एक दुई महिनाभित्रै पुल निर्माण गरिसक्ने बताए ।
प्रदेश सरकारले नमूनाको रुपमा सुनसरीको इटहरी चोकमा २५ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान गरेको छ । त्यस योजनाबाट पनि मेयर कोइराला प्रभाविक भएको बताइएको छ । करोडौं खर्च गरेर आकासे पुल बनाउनु भन्दा थोरै लगानीमा ट्राफिक लाइट व्यवस्थापन गर्न सक्दा प्रभावकारी हुन सक्ने उनले बताउने गरेका छन् ।

