विराटनगर । विराटनगर महानगरपालिकाले बजार सुरु गरेको छ ।
मंगलबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपमेयर कार्की नेतृत्वको टोलीले विराटनगर–११ स्थित नयाँ गद्रीका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु बरामदसमेत गरिएको थियो ।
ओम विष्णु किराना पसलबाट उपभोग्य मिति सकिएका चिल्ली सक्स, तोरीको पाउडर, चाउचाउ, चाउचाउको मसला, मस्यौरा, मरीच पाउडर, हर्लिक्स लगायतका सामान नष्ट गरिएको थियो । त्यसै गरी २१ बोतल तिलको तेल, १ बोतल माछाको सक्स समेत बरामद गरिएको उपमेयर कार्कीले जानकारी दिइन् । त्यस्तै गुद्रीमै रहेको आरवी ट्रेडर्समा शंकास्पद ढक र तराजु पनि अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । सम्बन्धित निकायमा पठाएर अध्ययन गर्ने महानगरका आर्थिक महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए । डिजिटल काँटामा ढकलाई राखेर हेर्दा तौलमा कमी देखिएपछि नियन्त्रणमा लिएको उनले बताए ।
चाडबाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका सामान बिक्री गर्ने, उपभोग्य मिति सकिएका सामान बिक्री गर्ने लगायतका गुनासो आउने गरेको छ ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमनलाई तीव्र पारिएको उपमेयर कार्कीले बताइन् । ‘बजार अनुगमनलाई अब तीव्र पार्छौँ,’ उनले भनिन्, ‘गल्ती गर्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्छौँ ।’ अनुगमनका क्रममा केही पसलले दर्तासमेत नगरेको पाइएको थियो । यसरी दर्ता नगर्ने पसललाई उपमेयर कार्कीले एक हप्ताभित्र महानगरमा दर्ता गर्न निर्देशनसमेत दिएकी थिइन् । अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तारानाथ भट्टराई, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि वीरेन्द्रकुमार दास, महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, निरीक्षण अधिकृत हरिप्रसाद गुरागाईँ, नगर प्रहरी निरीक्षक राजन पौडेल, खाद्य प्राविधिक धिरज राईलगायत सहभागिता रहेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।