विराटनगर । भर्खरै वडाध्यक्षमा निर्वाचित भएका उदयपुरको बेलका नगरपालिका वडा ७ का निकेश राई वडाको गोवाटार गाउँमा बस्नेत परिवारमा विवाद भएको खबर आएपछि पुगेका थिए । गत जेठ ५ गते उनी त्यहाँ पुग्दा छिमेकी आफन्तले नै बोक्सीको आरोप लगाएपछि उत्पन्न विवादबारे थाहा पाए ।
नातामा दाजु पर्ने नरबहादुर बस्नेतले भाइ राजकुमार बस्नेतको परिवारमा रहेका तीन जना महिला सदस्यलाई ‘बोक्सी’ को आरोप लगाएपछि विवाद भएको रहेछ । दुई जना आमा र पत्नी सरितालाई निरन्तर बोक्सीको आरोप लगाउन थालेपछि राजकुमारले वडाध्यक्ष र गाउँले गुहारेका थिए ।
भेलामा वडाध्यक्षले मात्रै होइन, गाउँलेले पनि नरबहादुरलाई हप्काए । अन्धविश्वासको पछि लागेर कसैलाई आरोप लगाउन हुन्न भनेर सबैले उनलाई सम्झाए । आइन्दा यस्तो काम गरे कानुनी कारवाही हुने चेतावनी पनि दिए । सबैले र्याखर्याखी पारेपछि नरबहादुरले गल्ती महसुस गरे र माफी मागे ।
वडाध्यक्ष र छरछिमेकसँग अबदेखि आरोप नलगाउने वाचा गरेका ४३ वर्षीय उनै नरबहादुरले भदौ १७ गते शुक्रबार राजकुमारसहित उनको परिवारका तीन जना सदस्यको विभत्स हत्या गरे । खेतमा धान गोडेर फर्किँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको खुकुरी प्रहार गरी हत्या गर्नुको ठूलो कुनै कारण नरबहादुरसँग देखिएको छैन ।अभियुक्तलाई पक्रेर अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले अहिलेसम्म हत्याको कारणबारे खुलाएको छैन । ‘अहिले पनि हामी अनुसन्धानकै क्रममा छौं’, उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले भने ‘हत्याको कारण सामान्य पारिवारिक विवाद मात्रै देखिएको छ ।’
बस्नेत परिवारका छिमेकी र वडाध्यक्ष राईले भने अनुसार मान्ने हो भने विशुद्ध अन्धविश्वासको आवेगले निम्त्याएको घटना हो । ‘उनीहरुको घर सय मिटर तल्तिर र मास्तिर थियो’, बस्नेतका एक जना छिमेकीले भने ‘आउजाउ हुन्थ्यो, नातेदार थिए । त्यही बोक्सी आरोप लगाउँदा भने सम्बन्ध बिग्रेको थियो ।’
वडाध्यक्ष राईले पनि त्यही आरोप लगाउने र राजकुमारको परिवारले प्रतिवाद गर्दै आएको बाहेक अन्य कुनै लेनदेन वा विवादको कारण नभएको बताउँछन् । ‘त्यही विवाद यति ठूलो रुपसम्म पुगेछ जस्तो लागेको छ’, उनले भने ‘बाँकी त प्रहरीले अनुसन्धान गरिरहेको छ । कारण खुल्ला नि !’
शुक्रबारका दिन राजकुमार र सरिता मात्रै होइन, खेतमा काम गर्न उनीहरुको साथमा छोरा सुजन र दुवै जना आमाहरु पनि खेततिरै गएका थिए । ११ देखि साढे ११ बजेतिर दुई जना आमाहरुले छोराबुहारी र नातिलाई घर गएर गाइवस्तुको हेरचाह गर्न भनेर अह्राए ।‘नरबहादुर खुकुरी बोकेर बाटोमा ढुकेर बसेको रहेछ’, वडाध्यक्ष राईले भने ‘बबिङ खोलामा उनीहरु आइपुग्दा आक्रमण गरेर हत्या गरेछ ।’ त्यस दिन आमाहरु पनि उनीहरुसँगै फर्केका भए उनीहरुमाथि पनि आक्रमण हुनसक्ने खतरा रहेको छिमेकी बताउँछन् ।
‘मलाई त्यो दिन अढाइ बजेतिर खबर आएपछि बल्ल मैले प्रहरीलाई खबर गरेँ’, वडाध्यक्ष राईले भने ‘त्यसक्रममा प्रहरीले उनलाई फेला पारेर पक्रेको हो ।’ स्थानीयका अनुसार नरबहादुरले आरोप लगाउने क्रममा उनले ज–जसलाई बोक्सी आरोप लगाए, तिनै महिलाले सपनामा आफूलाई दुःख दिने गरेको बताउँथे ।
पत्नी, एक छोरा, तीन छोरीका अभिभावक उनको ठूली छोरीको बिहे भइसकेको छ । आफूलाई सपनामा दुःख दिएकै कारण काकीहरु र बुहारीलाई ‘बोक्सी’ करार गरेका नरबहादुरले अन्ततः उनीहरुको ज्यान लिए । राजकुमारको परिवारमा अब दुई जना साना छोरीहरु र दुई जना आमाहरु छन् । बाबुको पहिल्यै मृत्यु भइसकेको छ भने ठूली छोरी ९ र सानी छोरी पाँच वर्षका छन् ।

