विराटनगर । प्रदेश १ मा गएको आर्थिक वर्षमा ५ हजारभन्दा धेरै महिला तथा बालबालिकालाई बेचबिखन हुनबाट सरोकारवालाहरुले रोकेका छन् ।
आर्थिक वर्ष २०७८/७९मा विभिन्न सीमा क्षेत्रमा काम गर्ने संघसंस्थाले सीमा क्षेत्रबाट ५ हजार ७२१ जनालाई रोकेको माइती नेपालले जनाएको छ ।
माइती नेपाल मोरङको आयोजनामा सोमबार विराटनगरमा आयोजित मानव बेचबिखन विरुद्धको सोह्रौँ राष्ट्रिय दिवसमा सो जानकारी दिइएको हो । यस्तै १ हजार ११२ जनाको विभिन्न क्षेत्रबाट उद्धार भएको माइती नेपालले जनाएको छ ।
माइती नेपालले १८ जना, साना हातहरूले ९ जना, आफन्त नेपालले ८१५ जना, सिविनले ३८ जना र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले ५९ जनाको उद्धार गरेको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । एक वर्षमा ३३४ हराएको रिपोर्ट आएकोमा १७२ जना भेटिएको उनले बताए । प्रदेश १ मा मानव बेचबिखनविरुद्ध २३ वटा मुद्दा प्रहरी र विभिन्न संघ संस्थामार्फत दर्ता भएको उनले जानकारी दिए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङ जिल्लाका सीमा क्षेत्र पनि मानब बेचबिखन र ओसारपसारको लागि अति संवेदनशील भएको बताए । सीमा क्षेत्रबाट मानव ओसारपसार गर्ने गिरोह अन्तर्राष्ट्रिय स्तरको हुने गरेकोले सबै सचेत हुनुपर्ने उनको भनाई छ ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिआइजी) सुदिप गिरीले अन्य अपराधभन्दा जघन्य अपराधको रूपमा मानव बेचबिखन रहेको बताए । मानव बेचबिखन पहिलेको तुलनामा कमी आएको भएपनि पुरै नियन्त्रण हुन नसकेको उनको भनाइ छ । बेचबिखनको स्वरुपमा परिवर्तन भएको उनको भनाइ थियो ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनालीले मानव बेचबिखन गर्ने अपराध रोक्नको लागि सबैको साथ र सहयोग हुनुपर्ने बताए । बेचबिखन रोक्नका लागि शिक्षा र सचेतनामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय मानवअधिकार आयोग विराटनगर प्रमुख नितु गड्तौलाले पहिले महिला र बालबालिका बेचबिखन रोक्न सीमा क्षेत्रको साथै राज्यले बेचबिखन विरूद्धका नीति तथा कार्यक्रम कठोर बनाउनुपर्ने बताइन् । हात समाएर सिमाना कटाउने जमाना नभएकाले इन्टरनेटको प्रयोग गरी हुने मानव तस्करी रोक्न राज्यसहित सङ्घसंस्थाले काम गर्नुपर्ने उनको भनाइ थियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!