विराटनगर ।आगामी मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सँगसँगै प्रदेशसभाको निर्वाचन पनि सोहीदिन हुनेछ । उक्त निर्वाचनका लागि पार्टीहरुको तल्लो कमिटीबाट निरन्तर उम्मेद्वार सिफारिस भइरहेका छन् ।
एक जनाले कतिपटक चुनाव लड्ने ? हरेक निर्वाचनमा एउटैलाई अवसर दिइरहनु अरु पार्टी कार्यकर्तालाई न्यायोचित हो ? यो विषयमा भने पार्टीहरुले उम्मेदवार सिफारिस गर्दा ध्यान दिएको देखिएको छैन । एक हिसाबले भन्ने हो भने अझै पनि ०४७ सालयता कुनै न कुनै ढंगले चुनाव लडिरहेका नेता नै सिफारिसमा परेका छन् ।
उदाहरणको लागि नेकपा एमालेका नेता गुरु बराल एक पात्र हुन् । उनले हालसम्म ५ पटक टिकट पाउँदा एक पटक जितेका छन् । तर, पनि फेरि उनै बराल मोरङ क्षेत्र नम्बर ६ (क) बाट प्रदेश सांसदको उम्मेदवारमा सिफारिस भएका छन् ।
२०५१ सालको मध्यावधि निर्वाचनदेखि चुनाव लड्न सुरु गरेका उनी उक्त निर्वाचनमा विजयी बने । त्यसयता २०५६, २०६४, २०७० मा पनि टिकट पाए । तर, उनले जित्न सकेनन् । एमाले पार्टीमा लामो इतिहास भएका बराल २०७८ सालमा भएको राष्ट्रिय सभा सदस्यको टिकट पाएर पनि पराजित बने । बरालले जित्ने समयमा टिकट नपाउने र हार्ने अवस्थामा टिकट पाउने गरेको चर्चा छ । फेरि पनि सत्ता गठबन्धनको चर्चा चलिरहेको बेला एक्लै लड्ने तयारी गरेको एमालेबाट उनले प्रदेशमा टिकट पाउने सम्भावना छ । उनले टिकट पाएर जितेको खण्डमा मुख्यमन्त्री बन्ने सम्भावना पनि छ । तर, हारे भने उनको जीवनमा हारको अर्को रेकर्ड बन्नेछ ।
एमालेबाट लगातारजसो चुनाव लड्ने र जित्नेमा पर्छन् लालबाबु पण्डित । पण्डितले २०४७ सालदेखि चुनाव भिडिरहेका छन् । उनले ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट पराजित बने । तर, ०५६ सालको निर्वाचनमा भने उनले सोही क्षेत्रबाट जिते । ०६४ सालको निर्वाचनमा चुनाव नलडेका उनी समानुपातिक सांसद बने । त्यसपछि उनले २०७४ सालको निर्वाचनमा पुनःउम्मेदवार बनेर विजयी बने । नेकपा एमालेको क्षेत्रीय समितिले पण्डितलाई यस पटक पनि मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारको सिफारिस गरेको छ ।
पण्डित र बरालजस्तै काँग्रेसबाट निरन्तर टिकट पाएर अवसर लिने अर्का पात्र हुन् महेश आचार्य । महेश आचार्य २०५६ सालदेखि अहिलेसम्म मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दै आएका छन् । उनले ०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन लडेका छन् । ३० औं वर्षदेखि निरन्तर एउटै क्षेत्रबाट एकै जनाव्यक्तिचुनाव लड्दा त्यहाँ काँग्रेसका युवा नेता गुरुराज घिमिरेजस्ता थुप्रै नेताहरु रमिते बन्नु परेको छ । निरन्तर चुनाव लडिरहेका उनी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट पराजित बनेपछि अन्य तीन निर्वाचनमा विजयी भएका थिए । राजनीतिमा लागेदेखि सत्ता र सरकारमा निरन्तर रहिरेहका आचार्य २०७४ सालको निर्वाचन पछि भने त्यति चर्चामा छैनन् ।
२० वर्षयता अर्थात् २०६४ सालयता निरन्तर निर्वाचन लड्नेहरुको ताँती झनै लामो छ । नयाँ शक्तिको रुपमा जनयुद्धबाट उदाएको राजनीतिक पार्टी माओवादीका नेता शिवकुमार मण्डल मोरङको क्षेत्र नम्बर ५ बाट लगातार प्रतिस्पर्धा गरिरहेका छन् । उनी एक पटक पराजित भए भने बाँकी समय विजयी बनिरहेका छन् । यस्तै काँग्रेसका डिगबहादुर लिम्बू, एमालेका घनश्याम खतिवडा, ऋषिकेश पोखरेल, माओवादी केन्द्रका गणेश उप्रेती (सुशील) पनि निरन्तर चुनाव लड्नेमा पर्छन् । लिम्बू, खतिवडा र पोखरेलले सांसदको स्वाद चाखेपनि अहिलेसम्म उप्रेतीले त्यो अवसर पाउन सकेका छैनन् । यस पटक पनि उनीनिर्वाचनमा क्षेत्र नम्बर २ को (क)बाट गठबन्धनको उम्मेदवार बन्ने तयारीमा छन् ।
यस्तै एमाले नेता विनोद ढकाल पनि इच्छा गर्दा टिकट पाउने नेता हुन् । उनले ०६४ सालको उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट टिकट पाएपनि पराजित बनेका थिए । त्यस्तै उनले ०७४ सालमा विराटनगर महानगरपालिकाको प्रमुखमा टिकट पाएर पनि पराजित बने । यस पटक उनी मोरङको क्षेत्रनम्बर ४ बाट निर्वाचन लड्ने तयारीमा छन् ।
यस्तै ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेर संसदको स्वाद चाखेका माओवादी नेता अमनलाल मोदी ०७४ सालमा प्रत्यक्षबाट निर्वाचित भएका थिए । उनी यस पटक पनि मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दैछन् । काँग्रेस नेता अमृत अर्याल पनि ०६४ सालयताका हरेक निर्वाचनमा उम्मेदवार बनेका छन् । उनी २०७० सालको दोस्रो संविधान सभामा विजयी बनेका थिए भने पहिलो संविधान सभामा तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले उनलाई पराजित गरेका थिए ।
यस्तै ०६४ सालयता निरन्तर चुनाव लड्ने नेता हुन् काँग्रेस नेता डाक्टर शेखर कोइराला । मोरङको क्षेत्र नम्बर ६ बाट ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएका कोइराला ०६५ सालको उपनिर्वाचनमा भने विजयी बनेका थिए । यस्तै २०७० सालको दोस्रो संविधान सभामा पुनः गच्छदारसँग पराजित बनेका कोइराला २०७४ सालको आमनिर्वाचनमा भने लालबाबु पण्डितसँग पराजित बने । उनै कोइराला यस पटक पुनःमोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।

