लोड हुँदैछ...

मेनु

गणेशले यूट्युब हेरेर सुरु गरेका थिए ड्रागन खेती

गणेशले यूट्युब हेरेर सुरु गरेका थिए ड्रागन खेती

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका –१ का गणेश राई ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन् । ३ बिगाहामा उनले ड्रागन फ्रुट खेती लगाएका छन् । परम्परागत धानखेती गर्दै आएका राईले ड्रागन बाट राम्रो आम्दानी समेत गरीरहेका छन् ।
यूके आर्मी बन्ने बन्नका लागी राईले ४ वर्ष सम्म कडा मेहनत गरका थिए । तर उनको मेहनत बालुवामा पानी हाले जस्तै भयो । आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि बन्द भयो ।

आर्मी नबनेपछि उनी र निर्माण व्यवसायी बनेका थिए । विश्वव्यापी बनेको कोरोना महामारीका कारण निर्माण व्यवसायका काम ठप्प भएका थिए । कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण घरभन्दा बाहिर निस्कन कोही पनि सकेनन्, घरबाहिर निस्कन प्रतिबन्ध भएपछि सरकारको नियम मानेर उनी घरमै बस्ने गर्थे ।

घरमा बस्दा दिन कटाउन समस्या भएपछि उनले गूगलमा नयाँ विषयवस्तु खोज्ने तथा यूट्यब हेरेर दिन कटाउन थाले । व्यवसाय बन्द भइरहेका बेला अब के गर्ने भन्ने अन्योल उनमा थियो तर यूट्युबमा एक भारतीय नागरिकले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गरिरहेको भिडियो हेरेपछि उनको मन पनि त्यतैतिर मोडियो । उनले ड्रागन सम्बन्धी अध्ययन शुरू गरे । यूट्युब तथा गूगलमा मन परेको विषयमा अध्ययन गर्दा दिन कटेको समेत उनले पत्तो पाएनन् ।

लकडाउनकै समयमा उनको मनमा ड्रागन खेती गर्ने भन्ने भूत नै चढ्यो । उनले खेती कसरी गर्ने, कति आम्दानी हुन्छ लगायतका विषयमा अध्यन गर्न थालेका थिए ।

धान फल्ने खेतमा ड्रागन खेती गरेर सुन फलाउँछु भन्ने योजना उनले बनाएका थिए । यूट्युब हेरेकै भरमा बनाएको योजना उनले सोचे जस्तो सजिलो थिएन । ‘त चिता म पुर्‍याउँछु’ भन्ने नेपाली उखान जस्तै भयो उनको ड्रागन खेती गर्ने योजना । नभन्दै भारतको हैदराबादमा बिरुवाको अर्डर गरे । त्यहाँ नयाँ हाइब्रेट जातका बिरुवा पाइने भएकाले भारतबाट ल्याएको उनले बताए । नेपालमा हाइब्रेड जातका बिरुवा नपाइने गरेको उनले बताए ।

परम्परागत धानखेती गर्दै आएका राईले लकडाउनको समयमा त्यो जग्गालाई एक्कासि बगर बनाए । झापा, मोरङ, सुनसरीलाई धान खेतीका लागि उर्बर भूमि मानिन्छ । त्यही उर्वर भूमिलाई बगरमा परिणत गर्दा छरछिमेकहरूले आश्चर्य नै माने, नमान्ने कुरा पनि भएन ।

‘मानो रोप्दा मुरी फल्ने खेत एक्कासि बगरमा परिणत गर्दा छिमेकी तथा आफन्तहरूले आश्चर्य मात्रै मानेनन्, गणेश बौलायो समेत भन्न भ्याएँ,’ उनले हाँस्दै भने ।

ड्रागन खेती गर्नका लागि पानी नजम्ने तथा बलौटे माटो भएको जमिन राम्रो मानिन्छ । उर्वर भूमिलाई प्लटिङ गरेर उनले त्यो जमिन खण्डहर बनाए । उनले खोलाको बगर जस्तो बनाउनुभन्दा अगाडि नै भारतबाट ड्रागनको बिरुवाको अर्डर गरेका थिए तर बिरुवा ढिलो आयो ।

जग्गामा ८ महिनासम्म कुनै बाली नलाएपछि जग्गामा झार भरिएको थियो । लहलह, धान, गहुँ, मकै, तोरी लगायतका बाली हुने खेत जंगल भएपछि छरछिमेक तथा साथीभाइहरूले उनलाई भेटेमा कहिले के जाति फल खान आउने हो भनेर जिस्क्याउने गरेको उनले सुनाए । कसैले त गणेशका बारीमा कति राम्रो ड्रागन फ्रूट उत्पादन भएछ हो भनेर जिस्काएको समेत उनले बताए ।

‘त्यति मात्रै होइन अब गणेश डुब्यो, अब सरसापटी तथा ऋण पनि दिनु हुँदैन भनेर साथीभाइहरूले भनेछन्,’ उनले भने, ‘अहिले तिनै साथीहरू विरुवा लगेर रोपिरहेका छन् ।’

लकडाउनको बेला उनले भारतमा गएर आफैं बिरुवा ल्याएका थिए । उनले १६ महिनाअघि ३ हजार पोलमा १२ हजार बिरुवा रोपेका थिए । एउटा पोलमा ४ वटा बिरुवा रोपिन्छन् । उनले रेड सी (रातो फल) प्रजातिको ड्रागन रोपेका छन् । उनले १ करोड रुपैयाँको लगानीमा फर्म सञ्चालनमा ल्याएका छन् ।

बिरुवाले फल दिन थाल्दा समेत छरछिमेकले फल कहाँ लगेर बिक्री गर्छ भनेर कुरा काट्न नछाडेको उनले बताए । शुरूमा बजार पनि राम्रो नभएकाले गल्ती गरिएछ कि जस्तो लागेको उनले बताए । पहिला गोर्खा डिपार्टमेन्ट र भाटभटेनीले मात्रै खरिद गर्थे । यी दुवै १ नम्बर प्रदेशका २ ठूला कम्पलेक्स हुन् ।

हाईब्रेड जातको लगाएकाले अन्य लोकल जातभन्दा ठूला दाना र उत्पादन पनि धेरै दिने भएकाले बिस्तारै बजारमा माग पनि बढ्दै गयो । सबैको आँखा उनकै उत्पादनतिर पर्दै गयो ।

अहिले लोकल फलफूल पसलले पनि उनकै फर्ममा गएर खरिद गर्ने गर्छन् । फर्मबाटै ६०० रुपैयाँ किलोमा बिक्री भइरहेको छ । काठमाडौंका बजारमा पनि उनले उत्पादन पठाउने गरेका छन् ।

उनले १० लटको फल लिइसकेका छन् । १६ हजार ५०० किलो उत्पादन भइसकेको उनले बताए । ‘१६ महिनामा मैले १० लट निकालें,’ उनले भने, ‘४ वर्षअघि लोकल जातका बिरुवा रोपेका साथीहरूले तीन हजार पैतिस सय किलो मात्रै बेचेका छन् ।’

उनले २ परिवारलाई बगान भएको ठाउँमा घर बनाइदिएर रोजगारी दिएका छन् । २ परिवारमा १२ जना छन् ।

स्वादिलो तथा पोषिलो फल ड्रागन फ्रूटको माग बढ्दै गएपछि उनले कलमी गरेर बिरुवा पनि बेच्न थालेका छन् । उनले तुर्छा ड्रागन फ्रूट कृषि फर्म प्रालि नाममा संस्था दर्ता गरेका छन् । अरु समयभन्दा पनि बोटबाट टिप्ने बेलामा आनन्द आउने गरेको उनले बताए ।

बगान राताम्य भएको बेला रुखमा पैसा फल्दो रहेछ जस्तो लागेको उनले बताए । ‘म यूके आर्मी भएको भए अर्काकै देशमा बन्दुक बोकेर अर्काले नै लगाएको काम गर्दै हुन्थे होला,’ उनले भने, ‘अहिले नेपालमै सानो भए पनि रोजगारी दिएको छु ।’ मेहनत गर्‍यो भने नेपालको भूमिमै सुन फल्छ भन्ने आत्मविश्वास बढेको उनले बताए

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।