कृषिवस्तुको आयातले नेपाली रकम ‘झ्वाम्मै’

  पुण्य कार्की

नेपालको आर्थिक समृद्धिका तीन आधार भनेको कृषि, पर्यटन र जलसम्पदाको विकास नै हो । जलवायूको विविधता, भूगोल र प्रकृतिको विविधताले कृषि उत्पादनको विपुल सम्भावना छ यो देशमा भनिन्छ । तर आज हिमाल पहाडदेखि तराईसम्मका ऊर्वर फाँट बञ्जर बन्दैछन् ।
देशको ऊर्वर जनशक्ति विदेसिनाले आफ्नो माटोमा पसिना पोख्ने र पौरख गर्ने मान्छेको अभाव छ यहाँ । रेगिस्तानी मरुभूमिमा मरुद्यान झुलाउन फुलाउन विवश नेपाली युवाहरुलाई यहीँ श्रम पसिना पोख्ने बातावरण कहिले बन्ला ? अनन्त प्रश्न उठिरहेको छन् । आज देशको समग्र अर्थतन्त्र विदेशबाट भित्रिएको विप्रेषण (रेमिट्यान्स)ले धानिरहेको छ । लाखौँ युवाले पराइ मुलुकमा अकथनीय दुःख भोगेर पठाएको रकमले मुलुकको सास धानिरहेको छ ।

विप्रेषण स्वरुप भित्रिएको खरबौँ रुपैया कृषिजन्य वस्तु आयात गर्नमै विदेश फर्किरहेको छ । नेपालीहरुले धन नकमाएका होइनन् । आफ्नो ज्यान बाजी थापेर कमाएको रकम दालचामल किन्नमा फेरि विदेश फर्किरहेको छ । कृषि उत्पादनमा हामी आत्मनिर्भर हुन सकेको भए, हाम्रो मुद्रा पराई मुलुकमा कदापि जाने थिएन ।

गत तीन वर्ष अघि आर्थिक वर्ष २०७४/०७५को आयातको स्थितिलाई केलाउने हो भने त्यस आर्थिक वर्षमा विदेशबाट आयातित केही कृषिजन्य बस्तुको विवरण र विदेशिएको नेपाली रकम राशी हेर्दा स्थिति कहालीलाग्दो देखिन्छ । दाल र गेडागुडी आयातमा मात्र ४५ अरब ४१ करोड रुपैयाँ विदेशियो भने चामल आयातमा २८ अरब ९० करोड रुपैयाँ विदेशियो ।

त्यस्तै, खानेतेल खरिदमा २६ अरब ९३ करोड विदेश गयो भने रासायनिक मल खरिदमा १५ अरव २७ करोड रुपैयाँ विदेशियो । यसै गरी मकै आयातमा १२ अरब ५४ करोड रुपैया बिदेशियो भने तरकारी आयातमा १२ अरब २९ करोड रुपैया विदेशियो । जडीबुटी आयातमा १२ अरब ३४ करोड रुपैयाँ विदेशियो भने स्याउ आयातमा ५ अरब ६३ करोड रुपैया अर्काे देशमा गयो । प्याज जस्तो सामान्य चिजको आयातमा ४ अरब ८५ करोड रुपैया विदेशियो भने मासुजन्य वस्तु खरिदमा ४ अरब ३३ करोड रुपैया विदेश गयो ।

यसै गरी तोरी मात्रै ९७ करोड १३ लाख रुपैयाँ मूल्यको आयात गरियो भने लसुन आयातमा ६१ करोड ३९ लाख रुपैयाँ विदेशियो । आलु आयातमा ६० करोड ३२ लाख रुपैया विदेशिएको छ । सुन्तला आयातमा ५७ करोड ९४ लाख रुपैया विदेशिएको छ । कृषियन्त्र खरिदमा ४ अरब ५५ करोड रुपैयाँ विदेशिएको छ । केरा खरिदमा ५३ करोड ९४ लाख रुपैया विदेश गएको छ । कागज आयातमा ४३ करोड २४ लाख रुपैयाँ विदेशिएको छ ।

यस आ.व.भित्र ३२ करोड २४ लाख रुपैयाँको गोलभेँडा मात्र विदेशबाट आयात गरियो भने सुकुमेल २० करोड ४६ लाख बराबरको आयात गरियो । बेसार खरिदका मात्र १२ करोड ७६ लाख रुपैयाँ विदेशियो भने अदुवा आयातमा ८ करोड ७१ लाख रुपैयाँ विदेशियो । कोदो आयातमा ३ करोड १६ लाख रुपैया विदेश पुग्यो । आरुवखडाको आयातमा ३ करोड २५ लाख रुपैयाँ विदेशियो भने मिनरल वाटर खरिदमा २ करोड ९९ हजार रुपैयाँ विदेशियो ।

यसै गरी स्वीटकर्न खरिदमा १ करोड ४ लाख रुपैयाँ विदेश पुग्यो भने उखु आयातमा १ करोड १८ लाख रुपैयाँ विदेश गयो । जौ किन्नमा ७५ लाख १ हजार रुपैयाँ विदेश पुग्यो भने च्याउ खरिदमा २५ लाख ५० हजार रुपैयाँ विदेशियो । एभोकाडो खरिदमा १ करोड रुपैयाँ विदेशियो ।
यी आयातित वस्तु नितान्त कृषिजन्य हुन् । अन्य औद्योगिक मेसनरी चिजको कुरै छाडौँ, कति रकम त्यसमा विदेशिएको छ । तथ्याङ्क हेर्दा मात्रै रिङ्गटा छुट्छ । नेपाल जलस्रोतको धनी देश भनिन्छ । कृषिजन्य वस्तु उत्पादनको लागि उर्वर भूमि ठानिन्छ । तर दालजन्य पदार्थमा हामी आत्मनिर्भर हुन सकेनौं । पूर्ण रुपले आत्मनिर्भर हुन नसकेपनि आंशिक रुपमा कम्तीमा उपभोगको ५० प्रतिशत दलहनजन्य पदार्थमा आत्मनिर्भर बन्नुपथ्र्याे । त्यो पनि हुन सकेको छैन । सबैभन्दा बढी रकम दालजन्य बस्तु आयातमा नै हाम्रो रकम विदेशिएको देखिन्छ । ४५ अरब ४१ करोडको दालमात्र अरु देशबाट किनेर खान्छौँ भन्दा हामीलाई अवश्य नै लज्जाबोध हुनुपर्ने हो । सरकार र कृषि मन्त्रालयले दाल उत्पादनका पकेट क्षेत्र निर्धारण गरी खालाखालका, जातजातका दालखेती थालनी गराउनुपर्ने हो ।

मलाई लाग्छ– हिमाल, पहाड, तराई सबै भूगोलमा किसिम किसिमका दाल फल्छन् । तराईमा फल्ने मुङ, मास, रहरी, मुसुरी, खेसरीदेखि पहाडमा फल्ने बोडी, सिमी, ढ्याङ्ग्रेदेखि उच्च लेखमा फल्ने गुँरासको दालसम्म नेपालमा उब्जिने अवस्था छ । यहाँको माटोपानी, जलवायूको परिस्थितिमा हरेक किसिमका दाल फल्न सक्छ । हामी आत्मनिर्भर स्थितिमा नपुगाँैला, तर क्रमशः आयात घटाउँदै दालजन्य बस्तु उत्पादनमा आत्मनिर्भर हुन सक्छौं ।

यसै गरी धानचामलको आयातमा डरलाग्दो रकम विदेशिएको देखिन्छ । नेपालीहरुको चामलको भातै खानुपर्ने भाते संस्कृतिले हाम्रा रैथाने अन्नाजको उत्पादन घट्दो छ । धानचामलको आयातमा ठूलो रकम विदेशिदो छ । केही दशक अघिसम्म हामी धान चामलमा आत्मनिर्भर रहेको कुरा तथ्याङ्कले देखाउँछ । दक्षिण कोरिया जस्तो देशलाई नेपालले धानचामल निर्यात गथ्र्याे भन्दा आजका पुस्तालाई पत्यार हुन्न । तर हामीले आफ्नो पुरानो विरासत लगभग गुमाइसकेका छौं । धानचामलमा ज्यादै ठूलो रकम विदेशिदैछ ।

नेपालको मध्यपहाडी भेगका ग्रामीण बस्तीमा छिरेर हेर्ने हो भने दुई बाली बकाइदा धान फल्ने खोलाखेत बाँझो पल्टिएका छन् । खोलामा पानी सुसाएर बगिरहेका छ । किनाराका जमिन बन्सो र दुबोले भरिएको छ । मार्सी र मसिना फल्ने खेत, भोटाङे र टाइचिनी झुल्ने गाह्रामा अचेल बाँदर नाच्छन् । खेतीपाती गर्ने उनौ उमेरका तन्नेरीहरु सबै खाडी मुलुकमा मजरा र एज्वामा भेडा चराइरहेका छन् । ऊँटको लिदी सोहर्नमा व्यस्त छन् ।

आफ्नो भूमि बाँझो राखेर अर्काे मुलुक हराभरा बनाउन दौडिने संस्कृति हावी हुँदो छ । व्यवस्थाको विसंगत, विदु्रप र योजनाविहीन परिवेशले विदेशिन पनि बाध्यता पारेको हुँदो हो, त्यो आफ्नै ठाउँमा छ । तर सरकारले युवा जनशक्तिलाई देशमै श्रमपसिना पोख्नको लागि उचित वातावरण तयार पार्न अवश्य नै ढिलाइ गरिरहेको छ । युवाको गन्तव्य आफ्नै मुलुक हुनुपर्ने आकर्षक प्याकेज बनाई धानचामलमा पनि आत्मनिर्भर बन्न सकिने अनेकौं उपाय छन्, त्यो अपनाउनै पर्छ ।

अदुवा, उखु, लसुन, प्याज जस्ता सामान्य बस्तु जुन हाम्रो घर घुर्यानमा आफैँ उम्रिन्छन् । जुन हाम्रा भातभान्सामा रोजरोज पाक्छन्, त्यस्ता चिजवस्तुको आयातमा ठूलो रकम विदेशिएको कुराले हामी नेपालीको मुटु चसक्क दुख्छ । लसुन, प्याज, अदुवा, खोर्सानी, उखु, बेसार जस्ता चिज नेपालको जहाँ रोप्यो, त्यही फल्ने चिज हुन् । हामी कतिसम्म बेकम्मा पंगु भैसक्यौँ भने आफ्नो करेसावारीमा केही झ्याङ खोर्सानी रोप्दा हुने हो, आफूलाई चाहिने लसुन प्याजका पोटी लाउँदा हुने हो त्यति पनि गर्न सक्तैनौँ ।

फलफूल जन्य उत्पादनमा त हाम्रो देशको हावापानी यति अनुकूल छ, तर व्यवस्थित तवरले फलफूल खेती गर्न सकिएको छैन । योजनाबद्ध ढंगले सुन्तला, केरा, आँप, जुनार, कागती उत्पादनमा अगाडि बढेर यी चिजमा आत्मनिर्भर हुनुपर्ने हो । सुन्तला मात्रै झण्डै ५८ करोडको किनिखान्छौं भन्दा आश्चर्य लाग्छ । केरा मात्रै झण्डै ५४ करोडको किनी खाँदा हामीलाई ग्लानीबोध हुँदैन । आरुवखडाको निम्ति उपयुक्त भूगोल हो पहाडी र हिमाली जमिन, तर ३ करोड २५ लाखको आरुवखडा, किनिखान्छौँ भन्दा लज्जावोध हुन्न । आलु समेत करोडौँको आयात गर्नुपर्दा हाम्रो बुद्धिले क्रमशः ‘आलु’ खाँदैछ ।

मासुजन्य पदार्थमा पनि हामी दिन परदिन परनिर्भर बन्दै गएका छौं । नेपालीहरुले परापूर्व कालदेखि गर्दै आएको पेसा व्यवसाय नै कृषि र पशुपालन हो । पशुपालनमा धनी देश नेपाल, आज ४ अरब ३३ करोडको मासु अर्काे देशबाट किन्छ भन्दा अवश्य नै हाँसो उठ्छ ।

उचित बजारको अभाव

किसानले मरीमरी उत्पादन गरेको कृषिजन्य वस्तुको उचित बजार र मूल्यको सुविधा छैन । उचित बजारको अभावमा तड्पिएका छन् । भर्खरै आफ्नो बन्दाकोबी विक्री नभएपछि डोजर चलाएर नष्ट गरेको दृश्यले कुन किसानको आँखा रसाउँदैन र ? टमाटर सडकमा फाल्नु परेको दृश्यले कुन किसानको हृदय तड्पिदैन र ?

पछिल्लो दुई दशकमा ४३ लाख उर्वर युवा जनशक्ति वैदेशिक रोजगारीमा बाहिर गएको कुरा तथ्याङ्कले देखाउँछ । हाल नेपाली कामदारलाई एक सय बहत्तर देशमा श्रम गर्न खुल्ला छ । नेपाली युवाको ठूलो हिस्सा मलेसिया र खाडी राष्ट्रमा आफ्नो अमूल्य श्रम पसिना पोखिरहेका छन् । अत्यन्त न्यून मूल्यमा आफ्नो श्रम बेचिरहेका छन् । प्रतिशतमा हेर्दा मलेसियामा नेपाली कामदारहरु २९.८८ प्रतिशत, कतारमा २१.५७५ साउदी अरेबियामा २०.३७५, संयुक्त अरब इमिरेट्समा १०.६२५, कुवेतमा २.५४५, कोरियामा १.३२५, बहराइनमा ०.८६५, ओमानमा ०.६३५, जापानमा ०.२१५, लेबनानमा ०.३५५ र बाँकी संसारका विभिन्न मुलुकमा ११.६५५ले पसिना पोखिरहेका छन् ।
यो जनशक्तिलाई जबसम्म देशमै कृषिमा आधारित रोजगारी सिर्जना गरेर आफ्नो मुलुकमा आकर्षित गरिँदैन, तबसम्म कृषिमा आत्मनिर्भर बन्ने कुरा सपनामात्र बन्छ ।

उर्वर उमेरका उत्पादनशील जनशक्तिको हिसाबले हामी अत्यन्त समृद्ध अवस्थामा छौँ । तथ्याङ्कले बताउँछ– उत्पादनशील युवा जनशक्तिको हिस्सा हाल ५६.५५ पुगेको छ भने १६ देखि ४० वर्ष उमेर समूहको उर्जाशील जनशक्तिको हिस्सा ३८.८५ रहेको छ । हरेक साल श्रमबजारमा ५ लाख नयाँ युवाशक्ति थपिंदो छ । तर यो जनशक्तिलाई राज्यले देश विकासमा प्रयोग र उपयोग गर्न सकेको छैन । फलस्वरुप अरुदेशले हाम्रा युवाको पसिना दोहन गरिरहेछन् ।

आफ्नै मुलुकले सदुपयोग र प्रयोग गर्नुपर्ने यो जनसांख्यिक लाभलाई खाडी राष्ट्र र मलेसियाले करिब करिब कौडीको मोलमा दोहन गरिरहेको छन् । भनिन्छ, नेपाल सन् २०१६ देखि २०२५ सम्म यो जानसांख्यिक लाभको स्थितिमा यथावत कामय रहनेछ ।त्यसपछिको समयमा भने क्रमशः संकुचन आउँदै जाने कुरा आकलन गरिएको छ । विडम्बना २०१६ बाट कटेर अहिले हामी सन् २०२२ मा हिँडिरहेका छौँ । तर जानसाङख्यिक लाभलाई क्यास गर्ने कुरामा उल्लेख्य कदम राज्यस्तरबाट आजसम्म चलिएको कुरा थाहा छैन ।

२०६८ सालकै तथ्याङ्कले देखाउँछ, १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४०.६८ प्रतिशत छ । जनसंख्याको यति ठूलो उर्जावान हिस्सा विदेश पलायन छ । अनि हाम्रा मलिला र उर्वर खेतवारी किन बाँझा नहुन् त ? देशले छिटो भन्दा छिटो नेपाली युवाको सीप र पूँजीलाई देशमै फुल्ने, झुल्ने वातावरण सिर्जना गर्नुपर्छ । अनि मात्र हामी आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ अभिमुख हुन सक्छौं ।

फेरि अपार सम्पदा र संभावनाले भरिपूर्ण देशमा अर्काे देशबाट कहालिलाग्दो दरमा कृषिवस्तुको आयात आफैँमा विरोधाभासी यथार्थ हो । यो विरोधाभासलाई मेट्नै पर्छ । उत्पादनका अनन्त सम्भावनाका क्षितिज उघारेर कृषिमा आत्मनिर्भर र स्वावलम्बी देश निर्माण आजका नेपाली नागरिकको जनजनको सपना हो, यो कुरा शासनसत्ताको बागडोर सम्हाल्ने मान्वरहरुलाई चेतना भया ।

सोमबार, २० भदौ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर