विराटनगर । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको ३३ लाख रुपैयाँको सामानमा राजस्व छली भएको पुष्टि भएको छ ।
गत मंगलबार मोरङ प्रहरीले विराटनगरबाट राजस्व छली भएको आशंकामा ३३ लाख रुपैयाँको मोटर पाट्ससहितको भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।
राजस्व अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट भन्सारले जाँचपास गरेर छोडेको सामानमा सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गरी एजेन्टमार्फत भन्सार कर्मचारीको मिलेमतोमा राजस्व छली भएको पुष्टि भएको हो । विराटनगरका ८ वटा फर्मले आयत गरेको सामानमा सन्दर्भ मूल्यभन्दा कम मुल्यांकन गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरीवाना गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालले जानकारी दिए ।
राजश्व कार्यालयका अनुसार ८ वटा प्रज्ञापन पत्रबाट ३२ वटा आइटम आयात गरेकोमा दुईवटा सामानमा सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गरेको पाइएको छ । सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गर्ने फर्मलाई जरीवाना तोकिएको हो ।
सामान आयतको लागि सहजिकरण जानकीप्रसाद केन्द्रले गरेको थियो । केन्द्रका भन्सार एजेन्ट सन्जय दुगड हुन् । राजस्वले जरीवाना ताकेको तोकेको दुई दिन पनि बित्न नपाउँदै फेरि मोरङ प्रहरीले शनिबार विराटनगरबाट ट्रकसहित ३६ लाखको सामान नियन्त्रणमामा लिएको छ । राजश्व छली गरेको आशंकामा प्रहरीले इलेक्ट्रिक सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले विराटनगर १६ का ५६ वर्षीय ट्रक चालक राम विवेक महतोले भन्सार छलेर भारतबाट नेपालतर्फ ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको ईलेक्ट्रोनिक सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्रकसहितको सामान आवश्यक कारवाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाएको छ ।
भन्सार एजेन्टले सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीसँगको मिलेमतोमा सामानको मूल्यांकन कम गरिदिने गरेका छन् । यस्तै कम परिणाम देखाएर धेरै सामान ढुवानीको व्यवस्था पनि भन्सार एजेन्टहरुले मिलाइदिने गरेका छन् ।
विराटनगर भन्सार कार्यालयले आयातका लागि योग्य भन्दै छाडेका ढुवानीका साधन प्रहरी फन्दामा पर्दै आएका छन् । भन्सारले प्रक्रिया पूरा गरेर छाडेको कागज ढुवानीकर्तासँग भएपनि ती सामानको वैधता पुष्टि हुने कागजात नभेटिएपछि प्रहरीले कडाइ गरेको हो ।यसअघि भन्सारबाटै जाँचपास भएर निस्किएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो । सुपारीको जाँचपासलाई लिएर उच्च अदालत विराटनगरले प्रश्न उठाएको छ । यद्यपि राजस्व अनुसन्धान कार्यालयले अहिलेसम्म सुपारीको अनुसन्धान अघि बढाएको छैन ।
भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मुल्यांकन र भेइकल एन्ड कन्साइन्मेट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम् मोटर्स पार्टस् र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारवाही गरेको थियो । भिसिटिएस नगरी सामान आयात गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याकन गरि भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरीवाना भएको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी राजेन्द्र ढुङ्गाना भने नियम अनुसार जाँचपाँस भएर गएको सामानमा कसरी सन्दर्भ मूल्य मिलेन भन्ने अचम्ममा परेको बताउँछन् । कर्मचारीको लापर्बाही भएको भए कारवाहीको दायारमा ल्याउने उनको भनाइ छ ।सन्दर्भ मूल्यांकन कम देखाएर राजस्व छलीको घटनामा विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाको समेत मिलेमतो रहेको आशंका गरिएको छ । घटनाको विषयमा बुझ्न सापकोटालाई बारम्बार सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

