विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा पुरानै प्रतिष्पर्धीहरूको भेट हुने भएका छन् ।

नेकपा एमालेले भानुभक्त ढकालको नाम सर्वसम्मत सिफारिस गरेपछि पुरानै प्रतिष्पर्धीहरूको भेट हुने भएका हुन ।

यसअघि २०७४ को निर्वाचनमा प्रतिष्पर्धा गरेका दुई उम्मेदवारबीच नै फेरि प्रतिष्पर्धा हुने निश्चित देखिएको छ ।

२०७४ मा वाम गठबन्धनका तर्फबाट ढकाल र नेपाली कांग्रेसका तर्फबाट सुनिल शर्मा उम्मेदवार बनेका थिए । त्यसबेला ढकालले बाजी मारेका थिए । शर्माको नाम यसअघिनै पार्टीले सर्वसम्मत सिफारिस गरेको छ । दुवै जनाको नाम एकल सिफारिस भएपछि पुरानै प्रतिष्पर्धीबीच चुनावी मैदानमा भेट हुने पक्का भएको हो ।

उनीहरूबीचको भेट गठबन्धन दलबीच मोरङ ३ मा कांग्रेसकै पर्ने गठबन्धनकै नेताहरुले बताउने गरेका छन ।

शर्मा मेडिकल व्यवसायी हुन् । अघिल्लो पटक गठबन्धनसँग झिनो मतान्तरले हारेकाले यसपटक आफूले बाजी मार्ने उनको दाबी छ । गत प्रतिनिधि सभाको निर्वाचनमा शर्मालाई एमालेले ‘मेडिकल माफिया’को आरोप लगाएको थियो भने कांग्रेसले ढकाललाई ‘पाहुना उम्मेदवार’को आरोप लगाएको थियो ।

सो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन झन्डै दोब्वर मतले अगाडि थियो । तर, पाहुना भनिएकै कारण ढकालले ४२ हजार ४१३ मत ल्याएर विजयी बन्दा उनलाई कांग्रेसका उम्मेदवार शर्माले ४० हजार ५०६ मतका साथ टक्कर दिएका थिए । यो क्षेत्रमा ढकाल नयाँ उम्मेदवार थिए । तर, शर्माले ढकाललाई आच्छु–आच्छु बनाएका थिए । ढकालले १ हजार ९०६ मत अन्तरले मात्रै जितेका थिए । यसपटक पनि त्यही आरोप लाग्ला भनेर ढकालले सुन्दर हंरैँचामा घर बनाइरहेका छन ।

अघिल्लो चुनावमा ढकाल प्रत्यक्षमा पहिलोपटक चुनाव लडेका थिए । त्यसभन्दा अगाडि उनी समानुपातिकबाट सांसद बनेका थिए ।
२०७० मा जिल्लाबाट सिफारिसमै नपरेका ढकाल सांसद भएका थिए । तेह्रथुमका स्थायी बासिन्दा ढकाल केन्द्रको पहुँच प्रयोग गरेर समानुपातिक सांसद भएका थिए । तेह्रथुमको एमाले जिल्ला कमिटीले समानुपातिकमा दुई जनाको नाम सिफारिस गरेको थियो । प्रदेश १ सांसद तेजमान कन्दङवा र पूर्वजिविस सभापति किशोरचन्द्र दुलालको नाम सिफारिस गरेको थियो । तर, केन्द्रीय कमिटीमा ढकाल भएको र एमाले अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएपछि समानुपातिकको सूचीमा केन्द्रले नै उनको नाम थपेको थियो ।

यसपटक भने त्यही आरोप दोहोरिएला भन्ने भयले ढकालले सुन्दर हरैँचामा धमाधम घर बनाइरहेका छन् । अघिल्लो पटक आफूलाई मतदान नै नगरी उनी निर्वाचित भएका थिए । यस पटक भने उनले मतदाता नामवलीमा समेत आफ्नो नाम सारिसकेका छन् ।

शर्मामाथि भने पार्टीभित्र गुटगतको राजनीति गरेका आरोप लाग्ने गरको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोरङ क्षेत्र नम्बर ३ बाट अभिनेत्री रेखा थापालाई उम्मेदवार बनाउने भएको छ ।

उनको घर मोरङ क्षेत्र नम्बर ¬ ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाको सलकपुरमा पर्छ । नेत्री थापाले चुनावी अभियान समेत शुरू गरीसकेकि छिन ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिका पर्दछन् ।