विराटनगर । विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेको आशंकामा मोरङ प्रहरीले विराटनगर महानगरपालिका १२ बाट इलेक्ट्रिक सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले विराटनगर १६ का ५६वर्षीय  ट्रक चालक राम विवेक महतोले भन्सार छली गरी भारतबाट नेपालतर्फ ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको इलेकट्रोनिक्स सामान र ट्रकसहित अन्दाजी ३६ लाख बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्रकसहितको सामान आवश्यक कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीले तीन दिन अगाडी पनि भन्सार छली गरेको आशंकामा ३३ लाखको सामान बोकेको ट्याक्टर नियन्त्रणमा लिएको थियो । एजेन्टले सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीले सामानको मूल्याङ्कन कम गरिदिने तथा कम परिणाम देखाएर बढी सामान ढुवानीको व्यवस्था मिलाइदिने गरेको पाइएको हो ।

भन्सारबाट जाँच पास भएर निस्किएका सामान लोड गरिएका ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएपछि राजश्वले अनुसन्धान अघि बढाउँदा कर्मचारीको मिलेमतोमा भन्सार छली भएको पुष्टि हुने गरेको छ । मंगलबार राति प्रहरीले कम मूल्याङ्कन गरी भन्सार छली गरेको आशङ्कामा मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । विराटनगर –१२ रोडशेस चोकबाट मोटर पार्टस बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयबाट जाँच पास भएर निस्किएको भारतीय नम्बर प्लेटको बिआर ७ के १७२४ नं। ट्याक्टरमा विभिन्न किसिमका मोटर पार्टस र ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र सामानको मूल्य ३७ लाख बराबरको रहेको छ । ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मूल्याङ्कन गरी प्रहरीले राजस्व कार्यालयमा पठाएको छ । प्रहरीले ट्याक्टर चालक भारतको अरअरिया बस्ने २४ वर्षीय तलुवा मुर्मीलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद गरेको ट्याक्टर, सामान र चालकलाई थप अनुसन्धानको लागि राजस्व कार्यालय इटहरी पठाइएको हो । नियन्त्रणमा लिएको सामान ९ वटा फर्मले आयात भएको देखिएको छ ।