लोड हुँदैछ...

मेनु

सम्पादकीय : भन्सारको शंकास्पद गतिविधि नियन्त्रण गर

सम्पादकीय : भन्सारको शंकास्पद गतिविधि नियन्त्रण गर

केही दशक अघिसम्म भन्सारको जागिरलाई निकै आकर्षक मानिन्थ्यो । एउटा भनाइ नै खुब प्रचलनमा थियो ‘भन्सार कि संसार’ । यो भनाइले स्पष्ट गथ्र्यो कि भन्सारका जागिरेले संसार जोड्ने अवसर पाउँछन् । त्यसैले भन्सारमा सरुवा भएर जान जो कसैलाई सहज थिएन । व्यापक रुपमा आर्थिक अपचलनको अवसर थियो त्यहाँ । त्यसैले भन्सारमा सरुजा जान कर्मचारीहरुले साम, दाम, दण्ड, भेद जस्ता सबै प्रकारको यन्त्रहरुको प्रयोग गर्दथे । अर्थात् भन्सार भ्रष्टाचारको एउटा बद्नाम अड्डाको रुपमा परिचित थियो ।

भन्सार मुलुकको राजश्व संकलनको प्रमुख केन्द्र हो । दैनिक उपभोग्य वस्तुदेखि प्रयोगमा रहेका अधिकांश वस्तुमा नेपाल परनिर्भर छ । विदेशबाट आयात हुने वस्तुबाट हाम्रा आवश्यकताहरु पूर्ति भइरहेका छन् । भन्सार बिन्दु भएर हरेक वस्तुको आयात हुने भएकोले राजश्वको सबैभन्दा ठूलो हिस्सा भन्सारमै आधारित छ । त्यसैले भन्सार क्षेत्रमा आर्थिक अपचलनको सम्भावना र जोखिम पनि उतिकै रहन्छ । अनौपचारिक रुपमा हुने आयात निर्यातलाई नियन्त्रण गरी नियमित बनाउने जिम्मेवारी भन्सार र त्यससँग सम्बन्धित सुरक्षा लगायतका निकायहरुको हो । नियमन र निगरानी गर्ने निकायपनि भन्सार कार्यालयहरुसँगको समन्वयमै परिचालित हुने गरेका छन् ।

दुई दशक अघि भन्सार जसरी बदनाम थियो पछिल्लो समयमा उसको छवीमा व्यापक सुधार आएको छ । यतिसम्म कि कर्मचारीहरु भन्सारमा सरुवा जान पनि खासै इच्छा नदेखाउने अवस्थामा पुगेका थिए । त्यसको कारण भन्सारमा हुने कमाइको पुरानो अवस्था कायम नरहनु नै हो । पहिलो संविधान सभा निर्वाचनपछि डा. बाबुराम भट्टराई अर्थमन्त्री बने । उनले अर्थतन्त्रमा देखिएका धेरै समस्याहरु समाधान गर्ने प्रयत्न गरेका थिए । भन्सार तथा राजश्वको क्षेत्रमा उनले नेपाली सन्दर्भमा एक प्रकारको क्रान्तिनै गरे । राजश्व प्रणालीमा सुधार गर्नुका साथै सूचना प्रणालीलाई आधुनिक समय अनुसार ढाल्ने गरी व्यवस्थित बनाए । जसको प्रभावले भन्सार र राजश्व क्षेत्रमा हुने गरेको भ्रष्टाचार न्यूनीकरण भयो । सूचना प्रणाली व्यवस्थित भयो । पछिल्लो समयमा आधुनिक सूचना प्रणाली स्थापनासँगै थुप्रै सुधारका कामहरु भएका छन् ।

धेरै समय बेथितिमा बितेको र पछिल्लो समयमा सुध्रिएको भन्सारमा आजभोलि फेरि अनियमितताका केही गन्धहरु आउन थालेका छन् । भन्सारबाट छुटेका गाडीहरुमा भन्सार जाँचपासको कागजातनै नभेटिने समस्या दोहोरिरहेको छ । भन्सार विन्दुबाटै अवैध र गैरकानुनी कारोबार त भइरहेको छैन भन्ने संशय पैदा हुनेगरीका क्रियाकलापहरु पछिल्लो समय बढेको छ । विराटनगर भन्सार कार्यालयबाट छुटेका गाडीहरु साउन र भदौ महिनामा प्रहरीले नियमित जसो नियन्त्रणमा लिनुले पनि आशंकाहरुलाई बढाउने काम गरेको छ ।

गत महिना विराटनगर भन्सारबाट जाँचपास भएर भारत निकासी गरेको सुपारी लामो समय भारतीय कस्टममा रोकेर राख्यो । तेश्रो मुलुकबाट आयात गरेर ल्याएको सुपारीलाई नेपाली उत्पादन भएको नक्कली कागजातलाई भन्सार कार्यालयले स्वीकृति दिएको थियो । पछि भारतीय क्षेत्रबाट नेपाल प्रहरीले उक्त सुपारीसहितका गाडी नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझायो । त्यसपछि पनि भन्सारको गतिविधि शंकास्पदनै देखिएको छ । केही दिनअघि भारत हुँदै चीनबाट आयात भएको आठ ट्रक स्याउ प्रहरीले भन्सार बिन्दु नजिकैबाट नियन्त्रणमा लियो । भन्सारबाट छुटेको स्याउ बीच बाटोमै अनलोड हुँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ती गाडीसँग भन्सारबाट जाँचपास भएको कागजातनै थिएन । ती गाडीहरु ट्याकिङ प्रणाली (भिसिटिएस)मा प्रविष्टनै नगरी भन्सारले छोडेको थियो । त्यस अघि र पछि पनि यस प्रकारका छिटपुट घटनाहरु भइनै रहेका छन् । यसले भन्सारक्षेत्रमा फेरि पनि नयाँ ढंगले भ्रष्टाचार र बेथितिको सुरुवात भएको अनुमान गर्न सकिन्छ । एक पटक बदनाम भएर सुधार भएको भन्सारको गतिविधि र क्रियाकलापलाई थप बिग्रन नदिन राज्यका नियमनकारी निकाय र नागरिक तहबाटपनि व्यापक निगरानी गर्नुपर्ने आवश्यकता बढेको छ । राज्यको राजश्व आय गर्ने मुख्य संयन्त्रलाई चुस्त दुरुस्त राख्ने कार्यमा सबैको भूमिका आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।