विराटनगर । विराटनगरको एउटा कवाडी पसलबाट चोरीको एक गाडी तार प्रहरीले बरामद गरेको छ ।विराटनगर – ११ टुनटुन शर्माको कवाडी पसलबाट प्रहरीले एक मिनी ट्रक चोरीको तार प्रहरीले बरामद गरेको हो ।

विद्युत्माप्रयोग हुने तार चोरी गरी शर्माको कवाडी पसलमा बिक्री वितरण गरेको पाइएपछि वडा प्रहरी कार्यालयको प्रहरी टोली पुगेर तार बरामद गरी विद्युत् प्राधिकरण विराटनगर वितरण शाखामा राखेको छ । कवाडी पसलबाट बरामद गरेको तीन बन्डल तार रहेको छ । बरामद गरेको तार शर्माले ४५ हजारमा खरिद गरेको बुझिएको छ ।

विद्युत् प्राधिकरणसँग ठेक्का लिने ठेकेदारले उक्त तार बिक्री गरेको हुनसक्ने आशङ्का गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ठेकेदारले उब्रिएको तार बिक्री गरेको आशङ्का गरिएको छ । प्राधिकरणले भनेको ठाउँसम्म जडान गरिसकेपछि उब्रिएको तार बिक्री वितरण गर्न पाइँदैन । काम गर्ने क्रममा तार उब्रिए विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ । तर, यहाँ मिलेमतोमा साइटबाट उब्रिएको तार कवाडी पसलमा बिक्री गर्ने गरेका छन् ।

शर्माको कवाडी पसलमा दुहबीका नसिफ मियाँ भन्ने व्यक्तिले बिक्री गरेका हुन् । प्रहरीले बिक्री गर्ने व्यक्ति र चोरीमा तार खरिद गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा अहिलेसम्म ल्याएको छैन । जसले गर्दा बिक्री गर्ने र खरिद गर्ने व्यापारीलाई उन्मुक्ति दिने तयारी गरिएको बुझिएको छ ।

यता कवाडी पसल संचालन गर्ने शर्माले आफूले तार खरिद नगरेर पसलमा काम गर्ने कर्मचारीले खरिद गरेको बताएका छन् । ‘पसलमा म थिइन् । कर्मचारीले खरिद गरेको रहेछ । पछि प्रहरी आएर तार गले पछि मात्र आफूले जानकारी पाएको हो,’ उनले भने ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।