विराटनगर । विराटनगरमा १८ वर्षीय एक जना किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बर्थडे मनाएर घर फर्किएकी किशोरीलाई भदौ १६ गते राती ९ : ४५ बजे विराटनगर १४ नहरमा पाँच जना युवाले सामूहिक बलात्कार गरेको हो ।

साथीसँग जन्मदिन मनाएर घर आउँदै गरेकी ती किशोरीलाई पाँच जना युवाले सामूहिक बलात्कार गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ इकराइका २९ वर्षीय सन्तोष मण्डल रहेका छन् । पक्राउ परेका मण्डल सामूहिक बलत्कार गर्ने मध्येका एक हुन् । अन्य थप चार जना फरार छन् । फरारको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।

बलात्कारको सिकारमा परेकीमा किशोरीले विराटनगरको एक होटेलमा जन्मदिन मनाएर घर फिर्किने क्रममा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

जन्मदिन मनाएपछि ती किशोरीलाई प्रेमिले घर पु¥याउन मोटरसाइकलमा हालेर लगेका थिए । घर पुग्नुभन्दा अगाडी उनीहरू विराटनगर १४ जतुवा अगाडीको नहरमा गफ गरेर बसेका थिए ।
प्रेमी र प्रेमिका गफ गरेर बसिरहेका बेला पाँच जनाको समूहले नियन्त्रणमा लिएर युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन (मापसे) गरी राति आएका युवाहरूले केटालाई नियन्त्रणमा लिएछन् । दुई जना केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि उक्त समूहको नियन्त्रणबाट युवा उम्किएर भाग्न सफल भए । तर भाग्न खोजे पनि लखेट्दै गएर युवतीलाई भने आफ्नो कब्जामा लिँदै सामूहिक बलात्कार गरेको पाइयो ।’

भाग्न सफल भएका युवाले गाउँमा गएर होहल्ला गरे । स्थानीय भेला जम्मा हुन थालेपछि बलात्कारमा संलग्नहरू युवतीलाई छाडेर घटनास्थलबाट फरार बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटबाट युवा र युवतीको टाउको, अनुहार, कुहिना लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार गरिएको छ ।

यस्तै मोरङको जहदा गाउँपालिका ७ मा भदौ १६ गते राती १० बजे ३७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा दुई जना युवालाई पक्राउ गरेको छ । प्रहरीले जहदा ७ का २८ वर्षीय सन्जय सोरेन र २५ वर्षीय राहुल साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुवै जानलाई मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।