विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकाका ग्रामीण बस्तीमा विद्युत विस्तारका क्रममा भ्रष्टचार भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका छन् । विद्युतीकरण गर्दा ठेकेदार कम्पनीले अनियमितता गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
ठेकेदार कम्पनीलाई कारबाहीको माग गर्दै उपभोक्ताले संघर्ष समिति नै गठन गरेका छन् । गाउँपालिका क्षेत्रमा विद्युत विस्तारका लागि ईश्वरी र शशिधर निर्माण सेवा प्रालिले ठेक्का पाएका थिए ।
जिल्लाकै दुर्गम आठराई गाउँपालिकामा ०७४ सालबाट विद्युतीकरणको काम सुुरु भएको थियो । काम सुुरु भएकै समयदेखि नै ठेकेदार कम्पनीले उपभोक्ताको श्रम शोषण गर्ने र गैरकानुनी रुपमा पैसा समेत असुल गरिरहेको स्थानीयको आरोप छ ।
विद्युत विस्तारको जिम्मा पाएका कम्पनीका सञ्चालक, कर्मचारीहरु र विद्युत प्राधिकरणका कर्मचारीहरु समेतको मिलेमतोमा उपभोक्तासँग नियम विपरीत रकम असुल गरेको आरोप उजुरी पत्रमा छ । संघर्ष समितिले सर्वसाधारण उपभोक्तासँग उठाएको पैसा फिर्ता गराउन लगाई दोषीलाई कारबाही गर्न समेत माग गरेको छ ।
अख्तियारमा दर्ता गराइएको उजुरी पत्रमा पोल गाड्नका लागि प्रतिपोल ८ सय र १ हजार ४ सय रुपैयाँ दिने भनेर कामदारसँग ठेकेदार कम्पनीले सम्झौता गरेको तर हालसम्म कामदारलाई एक पैसा पनि नदिएको उजुरी पत्रमा छ । विद्युत् प्राधिकरणले आठराई क्षेत्रमा राख्नका लागि खरिद गरेका ३९ वटा ट्रान्सफर्मरसमेत कम गुणस्तरका रहेकाले विद्युत प्रवाह समेत राम्रो नभएको उपभोक्ताको गुनासो छ ।

