विराटनगर । चोरेको गाडी लिएर बेतोड हुइँकिएका एक व्यक्तिले बाटैमा अर्को गाडीलाई ठक्कर दिँदा गाडी चोरिनबाट जोगिएको छ । संलग्न व्यक्ति प्रहरी फन्दामा पनि परेका छन् ।
विराटनगरको भट्टा चोकबाट चोरी गरेर भाग्दै गरेको टाटा सुमो कलेज बससँग ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । बिहीबार दिउँसो विराटनगर भट्टा चोकबाट चोरी भएको सुमो तीनपैनी चोकदेखि एक सय मिटर दक्षिण सडकमा मेरिल्याण्ड कलेजको बसमा ठोक्किएको हो ।
प्रहरीका अनुसार को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको स्कुल बसमा ठोक्किएको हो । दुर्घटनाबाट दुवै सवारीमा क्षति पुगेको छ ।
टाटा सुमो विराटनगर ३ भट्टा चोकका चन्द्र अधिकारीले सञ्चालन गर्छन् । घर अगाडि गाडी राख्ने वितिकै चोरी भएको उनले बताए । ‘भर्खरै चतराबाट आएको थिएँ, गाडी राखेर घर भित्र छिर्न नपाउँदै चोरी भयो,’ उनले भने,‘ भाग्दै गर्दा यहाँ ठोक्काएछ ।’घर अगाडि राखेको गाडी नदेखेपछि खोज्दै गर्दा दुर्घटनामा परेको खबर उनले पाएका थिए । स्थानीयका अनुसार तीव्र गतिमा आएको सुमोले स्कुल बसलाई ठक्कर दिएको थियो ।
प्रहरीले गाडी चोरी गरेर भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इञ्चार्ज राजकुमार कार्कीका अनुसार अशोक चौधरीलाई पक्राउ गरिएको हो । घटनास्थलबाट नियन्त्रणमा लिँदा चालक नशामा थिए । उनले आफ्नो नाम पनि फेरिरहेको प्रहरीले बताएको छ । उनलाई यसअघि पनि प्रहरीले चोरीको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरी कारवाही गरेको थियो ।

