विराटनगर । स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेत सँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पहिलोपटक फरक दलबाट यसपटकको चुनावी परीक्षामा होमिँदैछन् ।
इलाम १ बाट चुनाव लड्दै आएका खनाल यसपटक एकीकृत समाजवादीका तर्फबाट चुनावी प्रतिष्पर्धामा जाने तयारी गरिरहँदा नेम्वाङ पनि आफ्नो पुरानो क्षेत्र इलाम २ मा एमालेबाट चुनाव लड्दैछन् ।
यसअघिका अधिकांश चुनावमा सजिलो गणितको सहारामा चुनाव लड्दै आएका यी दुवै हेभिवेट नेता आगामी चुनावमा त्यति सजिलो हिसाबको सुविधामा छैनन् । २०५६ बाहेकका सबै चुनावमा विजेता बनेका खनालले यसपटक काँग्रेस, माओवादी लगायतका गठबन्धनका दलहरुको मत सुरक्षित पार्नुपर्ने चुनौती छ भने अहिलेसम्म लडेकामध्ये कुनै चुनाव नहारेका नेम्वाङलाई गठबन्धनसँग रहेको बलियो गणितको चुनौती छ ।
सत्तारुढ गठबन्धन दल र एमालेका नेताहरु जिल्लाको अवस्था आफू अनुकूल रहेको दाबी गरिरहेका छन् । काँग्रेस जिल्ला सभापति डम्बर खड्का इलामका दुवै क्षेत्रमा गठबन्धन धेरै बलियो रहेको भन्दै ढुक्क देखिन्छन् । ‘इलामका सबै क्षेत्रमा गठबन्धन बलियो छ’, खड्काले भने ‘यसपटक हामी इलाकका संघ र प्रदेशका शतप्रतिशत क्षेत्रमा जीत निकाल्नेछौं ।’ उनको यस्तो ढुक्कपनको आधार गएको स्थानीय चुनावको मतपरिणाम हो । गठबन्धनका सबै दलका उम्मेद्वारहरुको मत र एमाले उम्मेद्वारको मत जोड्दा दुवै क्षेत्रमा गठबन्धन बलियो देखिन्छ ।एमाले भने स्थानीय चुनावको गणितलाई मात्रै आधार मान्ने पक्षमा छैन । ‘यो नेता र कार्यकर्ता तहमा मात्रै भएको गठबन्धन हो’, एमाले इलामका उपसचिव रविन्द्र सुवेदीले भने ‘जनताको तहमा यो गठबन्धनको कुनै अर्थ छैन । एमाले पुरानो सफलता दोहोर्याउन सक्षम छ ।’
अहिलेसम्म खनालले जित्दै आएको इलाम १ मा सन्दकपुर, माइजोगमाई र रोङ गाउँपालिका तथा सूर्योदय नगर, माई नगरका १, २, ३, ४, ५ ९ र १० नम्बर वडा र इलाम नगरपालिकाको १० नम्बर वडा पर्दछन् । स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत अनुसार यो क्षेत्रमा एमालेसँग २६ हजार २३३ मत छ ।
कांग्रेसले यो क्षेत्रमा पाएको मत २५ हजार ७७२ हो भने एकीकृत समाजवादीले ९ हजार ४८१ जसपाले १ हजार ८२९ र माओवादीले १ हजार २३५ मत पाएका छन् । राप्रपासँग १ हजार १६९ मत छ । राप्रपा र एमालेबीच तालमेल हुने अवस्थामा पनि गठबन्धनकै मत बढी हुने देखिन्छ । गठबन्धन दलहरुको कूल मत ३८ हजार ३१७ हुँदा एमाले र राप्रपाको मत मिसाउँदा २७ हजार ४०२ मात्रै हुन्छ ।
इलामबाट राजनीतिक यात्रा थालेर पार्टी र सरकार दुवैको प्रमुख भइसकेका खनालका लागि यसपटक हुने मुख्य प्रतिकूलता भनेको अन्य दलहरुमाथि निर्भर हुनुपर्ने अवस्था हो । यसपटक उनीसँग मतदाता अभ्यस्त भइसकेको चुनाव चिन्ह सूर्य हुनेछैन । स्थानीय चुनावपछि कार्यपालिका चुनावमा खनालको दल एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेका कारण काँग्रेस पंक्ति असन्तुष्ट रहेको चर्चा पनि उत्तिकै छ ।
यसलाई काँग्रेस सभापति खड्का भने अस्वीकार गर्छन् । ‘उहाँसँग काँग्रेस असन्तुष्ट हुनुपर्ने कारण नै छैन’, उनले भने ‘दिल्लीको अस्पतालमा हुँदा पनि ओली सरकार ढालेर काँग्रेस नेतृत्वमा सरकार बनाउन योगदान गर्ने उहाँ नै होइन ? उहाँसँग काँग्रेस किन असन्तुष्ट हुनु ? काँग्रेस उहाँलाई जिताउन प्रतिबद्ध हुनेछ ।’
२०७४ मा वाम गठबन्धन हुँदा ३६ हजार ८०५ मत ल्याएर इलाम १ बाट जितेका खनालको त्यो ह्याट्रिक जीत थियो । २०४८ र २०५१ मा चुनाव जितेका खनाल २०५६ मा काँग्रेसका बेनुपराज प्रसाइँसँग पराजित भएका थिए । २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेका खनाल यसपटक त्यही सफलता दोहोर्याउने दाउमा छन् ।
उनको चुनावी प्रतिष्पर्धा यहाँ एमालेका उम्मेद्वारसँग हुने निश्चित छ । उनीसँग भीड्न उनकै पूर्व कार्यकर्ता एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र काजीमान कागते दौडमा छन् । टिकटको दाबी गरिरहेका बस्नेत २०७४ मा इलामको मेयर थिए भने यसपटक प्रदेशसभा त्यागेर सूर्योदयको मेयर लडेका कागते एकीकृत समाजवादीका रनबहादुर राईसँग पराजित भएका थिए ।
२०४८ र २०५२ मा राष्ट्रियसभा सदस्य बनेका र २०५६ यता इलाम २ बाट चुनाव लड्दै आएका संविधानसभा अध्यक्ष नेम्वाङले त्यसयताका कुनै चुनाव हारेका छैनन् । पहिलो संविधानसभा निर्वाचनमा देशैभर एमाले पराजित हुँदा पनि इलामका दुवै क्षेत्रबाट एमालेका खनाल र नेम्वाङले जितेका थिए ।
यसरी अहिलेसम्म सहजै जित्दै आएका एमाले उपाध्यक्ष नेम्वाङ सामु गठबन्धनको बलियो गणित मुख्य चुनौती छ । अन्य सबैजसो ठूला दल एकातिर र विभाजित भएपछिको पार्टी एकातिर हुने अवस्था पनि उनका लागि छिचोल्नै पर्ने चुनौतीका रुपमा छ । एमाले पंक्ति गठबन्धन जनताको तहमा नहुने भन्दै नेम्वाङ सजिलै विजयी हुने दाबीमा छ ।
इलाम क्षेत्र नम्बर २ मा इलाम नगरका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ नम्बर वडा, देउमाई नगरपालिका, फाकफोकथुम र माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्दछन् । गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत अनुसार गठबन्धन दलहरु एमालेभन्दा अघि छन् । यद्यपि सबै दल मिल्दा पनि चार हजार हाराहारी मतले मात्रै गठबन्धन अघि रहेकाले त्यसको पूर्ति सजिलै गर्न सकिने आंकलनमा एमाले छ । यसबाहेक जनजाति बहुल क्षेत्र पर्ने भएका कारण पनि नेम्वाङलाई सजिलो हुने विश्वास एमालेको छ ।
‘इलाम २ मा चुनाव जित्न हामीलाई कुनै समस्या छैन’, एमाले उपसचिव सुवेदीले भने ‘मतदातालाई गठबन्धनसँग कुनै चासो छैन ।’ काँग्रेस सभापति खड्का भने अहिलेको गणित कायमै राखेर अन्तर अझै बढाउन गठबन्धन सफल बन्ने दाबी गर्छन् ।
स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत अनुसार यो क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी मत पाएको थियो । ३२ हजार ९७८ मतसहित काँग्रेसको हुँदा एमालसँग पनि उसैको हाराहारी ३२ हजार ५२७ मत छ । माओवादीले २ हजार ७१७, जसपाले ५५४, र एकीकृत समाजवादीले २७७ र राप्रपाले १३० मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनको कूल मत ३६ हजार ५२६ छ ।
इलाम २ मा नेम्वाङसँग प्रतिष्पर्धा गर्न गठबन्धनबाट काँग्रेसले उम्मेद्वारी पाउने निश्चित छ । काँग्रेसबाट नेताहरु केशव थापा, जिल्ला सभापति खड्का र भेषराज आचार्य पनि टिकटको दौडमा छन् । वाम गठबन्धन भत्केको र एमाले पनि फुटेको फाइदा आफूलाई हुने र गठबन्धन पनि सोही अनुसार बनेका कारण काँग्रेस यो क्षेत्रमा बढी नै आशावादी देखिन्छ । २०७४ को निर्वाचनमा वाम गठबन्धन ह्ुँदा नेम्वाङले ३६ हजार ५१७ मत पाउँदा काँग्रेसका केशव थापाले २६ हजार ८६५ मत पाएका थिए ।
प्रतिनिधिसभाको आउँदो चुनाव यी दुई नेताका लागि जिल्लामा आफ्ुनो प्रभाव नाप्ने अवसर पनि बन्नेवाला छ । यसअघिसम्म उनीहरु एमालेको बलियो संगठनको बलमा चुनाव लड्दै आएका थिए । यसपटक नेम्वाङलाई त्यो संगठनको बल छ तर खनालसँग आफैले बनाएको संगठन पनि सिंगै चाहिँ साथमा छैन ।
कक्षा ५ देखि आइएस्सीसम्मका सहपाठी र लामो समयसम्मका ‘रुममेट’ समेत रहेका खनाल र नेम्वाङ यो प्रतिष्पर्धामा कति खरो उत्रेलान् ? यसको उत्तर मंसिर ४ को चुनावले मात्रै दिनसक्नेछ ।

