विराटनगर । मोरङको ६ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेद्वार बन्न नेपाली काँग्रेसका नेताहरु डा. शेखर कोइराला , डा. डिला संग्रौला र रमेशजंग रायामाझीले पार्टीमा आवेदन दिएका छन्।
आवेदन दिनेहरुमध्ये कोइराला पार्टीभित्रको संस्थापन इतर पक्षमा नेता हुन् भने संग्रौला र रायामाझी संस्थापन पक्षका नेताहरु हुन्।
पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई बलियो चुनौती दिएर संस्थापन इतर पक्षको नेता बनेका कोइरालालाई चुनौती दिन संस्थापनले केन्द्रीय सदस्य संग्रौला र राष्ट्रियसभामा दलका नेता रायामाझीलाई अघि सारेको हो।
‘अहिलेसम्म हामी तीन जनाको आवेदन परेको छ’, प्रदेश १ को पार्टी उपसभापति समेत रहेका रायामाझीले भने ‘यसपटक यो क्षेत्रबाट मैले चुनाव लड्ने हो। शेखर कोइरालाले क्षेत्र परिवर्तन गर्नुपर्छ।’ रायामाझीले कोइरालालाई मोरङ २ जान सार्वजनिक रुपमै सुझाई रहेका छन्।
उनीसहितका संस्थापन पक्षका नेताहरु यो क्षेत्र कोइरालाले छाड्नु पर्ने भन्दै निरन्तर लविइङमा छन् भने कोइराला यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।
कोइरालालाई शक्तिशाली हुन नदिन संस्थापन पक्षले महाधिवेशनयता निरन्तर प्रयास गर्दै आएको छ। शेखर निकट नेताहरु ‘सोही कारण घेराबन्दी गरिएको तर पार नलाग्ने’ बताउँछन्।काँग्रेसका क्षेत्रीय सभापति देवराज तामाङले आकांक्षीहरुको आवेदन आउने क्रम जारी रहेको जानकारी दिए। ‘अहिले हामी बैठकमा छौं, आवेदन आउने क्रम जारी छ’, उनले भने ‘ आवेदन लिइसकेपछि मात्रै सिफारिश गर्ने हो।’
मोरङ ६ मा २०७४ को निर्वाचनमा कोइराला वाम गठबन्धनका एमाले उम्मेद्वार लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित बनेका थिए।
वाम गठबन्धनका पण्डितले त्यसबेला ३३ हजार ९४१ मत ल्याउँदै जीत दर्ता गर्दा कोइराला ३३ हजार २६६ मत ल्याएर पराजित बनेका थिए। पण्डित र कोइरालाबीचको मतान्तर ६७५ मत मात्रै थियो।
यसपटक गठबन्धनको सहारामा सजिलै जीत निस्कने काँग्रेस नेताहरुको आशा छ। नेता कोइराला स्वयम् भने स्थानीय चुनावमा गठबन्धनको विपक्षमा थिए। उनले अहिले स्थानीय चुनावताका जस्तो गठबन्धनको खुला विरोध त गरेका छैनन्। तर, काँग्रेसले कम्तीमा सय सिट बेगर तालमेल गर्न नहुने अडान चाहिँ राखिरहेका छन्।
काँग्रेसभित्र कोइराला परिवारको बलियो पकड रहेको मानिने यो क्षेत्रमा क्षेत्रीय समितिले कोइराला एक्लैको नाम सिफारिश गर्ने तयारी गरेको तर कोइरालाकै आग्रहमा आवेदन लिएर छलफलको बाटो खुला गरिएको उनी निकट नेताहरुको भनाइ छ। ‘क्षेत्रीय समितिले उहाँको मात्रै नाम सिफारिश गर्ने तयारी गरेको थियो’, समितिका एक पदाधिकारीले भने ‘तर, उहाँ नै त्यसो गर्न मान्नुभएन।’
विराटनगर महानगरको वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२, बुढीगंगा गाउँपालिका, सुन्दरहरैंंचा नगरको २, ३ ४ ५ र ६ नम्बर वडा यो क्षेत्रमा पर्दछन्।
पछिल्लो स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेद्वारहरुले पाएको मत अनुसार कांग्रेसका उम्मेद्वारहरुले नै सबैभन्दा धेरै मत पाएका छन्।
काँग्रेसका वडाध्यक्ष उम्मेद्वारहरुले २७ हजार ८६ मत पाउँदा एमालेका उम्मेद्वारहरुले २४हजार ५५६, माओवादीकाले ४ हजार ९९६, जसपाकाले ३ हजार ९३९, राप्रपाले ३ हजार ११५, एकीकृत समाजवादीले २ हजार ३५५ र लोसपाका वडाध्यक्ष उम्मेद्वारहरुले ८९५ मत पाएका थिए।
सत्ता गठबन्धनका दलहरुको सबैको मत जोड्दा यहाँ ३८ हजार ३७६ हुन्छ। जुन एमालेभन्दा बढी हो। यदि एमाले, राप्रपा र लोसपा एकातिर उभिने अवस्था आयो भने पनि त्यो गठबन्धनमा कूल मत २८ हजार ५६६ मत मात्रै हुन्छ।
२०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी डिला संग्रौलाले पनि यसपटक आफू प्रत्यक्षतर्फ प्रतिष्पर्धा गर्ने बताएकी छन्। ‘मैले समानुपातिकबाट सांसद बनेर अनुभव हासिल गरिसकेँ, अब म प्रत्यक्षमा प्रतिष्पर्धा गर्ने हो’, उनले भनिन् ‘त्यसैले पार्टीमा आवेदन दिएकी हुँ।’काँग्रेसबाट उम्मेद्वार बन्ने चर्चित नेताहरुको लर्को लाग्दा एमालेले भने अहिलेसम्म उम्मेद्वार छनोटबारे छलफल मात्रै गरिरहेको छ। यो क्षेत्रबाट एमालेले फेरि लालबाबु पण्डितलाई नै अघि सार्ने तयारी गरेको छ। यद्यपि पछिल्लो राष्ट्रिय सभा निर्वाचनमा गोलाप्रथामा हारेका अध्यक्ष केपी शर्मा ओली निकट नेता गुरु बराल पनि यहाँबाट उम्मेद्वार हुन सक्ने सम्भावना एमाले नेताहरु औंल्याउँछन्।
‘२०७४ को चुनावमा पण्डितको जुन क्रेज थियो, त्यो अहिले छैन’, एमालेका एक नेताले भने ‘त्यसैले अहिले यसै भन्न सकिने अवस्था छैन।’